किन पर्छ एटिएम ह्याकरको निशानामा नेपाल ?

काठमाडौं– गत शनिबार, बैंकको एटिएमको पिन नम्बर ह्याक गरेर ग्राहकको खाताबाट करौडौं रुपैयाँ लुट्ने पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गर्‍यो । बैंकबाट अस्वभाविक रुपमा पैसा निकालिएको भन्दै प्रहरीमा पुगेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई झन्डै डेढ करोड रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

उनीहरुलाई एटिएमको पिन नम्बर ह्याक गरेर पैसा चोर्दै गर्दा प्रहरीले पक्रिएको हो । यस लगत्तै यही घटनामा तीन नेपाली र एक चिनियाँ सहित चार जना पक्राउ परे । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार, ह्याकरहरुले विभिन्न बैंकको एटिएम सिस्टम ह्याक गरेका थिए । एटिएमको पीन नम्बर ह्याक गरि पैसा चोरी गरेको यो घटना त पछिल्लो उदाहारण मात्र हो ।

गत बर्ष भदौमा पनि नक्कली एटिएम बनाएर लाखौं चोरी गर्ने गिरोह तीन भारतिय नागरिक र दुई नेपाली सहित ५ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो । प्रहरीको अनुसन्धान अनुसार, त्यो समूहले दुई वटा बैंकबाट ७/७ लाख गरि १४ लाख रुपैयाँ एटिएमबाट चोरी गरेको थियो । उनीहरुले नेपालमा आएर विदेशी नागरिकको नक्कली एटिएम सिर्जना गरी रकम चोरी गरेका थिए । त्यस अघि पनि एटिएमको पीन नम्बर ह्याक गरि रकम चोरी भएका घटना पटक–पटक दोहोरिएका छन् ।

कमजोर बैंकिङ सुरक्षा प्रणाली, फितलो कानून, खुला नाकाका कारण प्रवेशमा सहजता, प्रहरीको कमजोर सूचना संयन्त्र प्रणाली लगायतका कारण एटिएम ह्याकिङका लागि विदेशी गिरोहको निशानामा नेपाल पर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

You might also like