नेप्सको कमजोरीले बैंकलाई तनाब, कस्ले तिर्छ लुटिएको पैसा ?

काठमाडौं । ११ वाणिज्य बैंक र ७ वटा विकास बैंकको कारोबारको जिम्मा लिएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को कमजोरीका कारण चिनियाँ ह्याकरहरुले विभिन्न बैंकको साढे ३ करोड रुपैयाँ चोरी गरेसँगै यसको सुरक्षाबारे चासो बढेको छ ।

सुरक्षित र भरपर्दो कारोबारको प्रतिवद्धता जनाउँदै बैंकहरुसँग सम्झौता गरेको नेप्सले समयमै सावधानी नअपनाउँदा ह्याकरले आधा दर्जन वाणिज्य बैंकको ३ करोड ४५ लाख रुपैयाँ लुट्न सफल भए ।नेप्सको सेवा लिएबापत बैंकहरुले सदस्यता शुल्क र कारोबारको आधारमा वार्षिक डेढदेखि ४ करोड रुपैयाँसम्म रकम बुझाउँदै आएका छन् । यसरी ग्राहकसँग शुल्क लिएर जिम्मा लिएपछि त्यसको क्षतिपूर्तिको जिम्मेवारी पनि नेप्सले नै लिनुपर्ने बैंकरहरुको भनाइ छ ।

उक्त घटना भएयता पनि सोही प्रकारले एटीएम बुथमा शंकास्पद गतिविधि भने अझै भइरहेका छन् । इन्टर बैंक एटीएम ट्रान्जेक्सन बन्द गरिएको भए पनि एक बैंकको प्रणालीमा अर्को बैंकको एटीएम बुथ प्रयोग गरेर ब्यालेन्स इन्क्वायरी भने भइरहेको बैंकहरु बताउँछन् । यसले अझै पनि उक्त प्रणाली सुरक्षित हुन नसकेको देखाउँछ ।

एटीएम ह्याक प्रकरणमा बैंकहरुको कुनै गल्ती, कमीकमजोरी देखिएको छैन । भुक्तानी सेवा प्रदायक नेप्सको असावधानीका कारण ह्याकरले रकम चोरी गरेको तथ्यहरुले पुष्टि गर्छ । ‘एटीएम बुथमा कार्ड घोटेर रकम भुक्तानीका लागि रिक्वेस्ट आएपछि ग्राहकको विवरण र पिन नम्बर चेक गरेर यो ग्राहकलाई भुक्तानी गर्न हुन्छ कि हुँदैन भनेर सम्बन्धित बैंक (जुन बैंकको कार्ड प्रयोग भएको छ त्यही बैंक) को कोर बैंकिङ सिस्टममा सूचना दिनुपर्थ्यो,’ नेप्सको सदस्य रहेको एक बैंकका सीइओले क्लिकमाण्डूसँग भने, ‘तर हामीलाई कुनै सूचना नै नदिई नेप्सले भटाभट भिसालाई भुक्तानी गरे हुन्छ भन्दियो ।’

पूर्णरुपमा सुरक्षाको ग्यारेन्टी नगरेसम्म बैंकहरु नेप्ससँग कारोबार गर्न डराइरहेका छन् । यद्यपि राष्ट्र बैंकले सेवाग्राहीलाई मध्यनजर गर्दै एटीएम सेवा अवरुद्ध नगर्न निर्देशन दिएपछि भने बैंकहरुले डराई डराई भए पनि नेप्सबाटै कारोबार गरिरहेका छन् ।

You might also like