प्याजमा कालोबजारी गर्ने ६ ब्यापारीबाट विभागले उठायो १२ लाख जरिबाना

आलुभित्र प्याज लुकाएर कालोबजारी गर्ने ६ व्यापारीबाट वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १२ लाख जरिबाना असुल गरेको छ।उलक शब्जी भण्डार, दुलाल आलु भण्डारका सञ्चालक र तरकारी व्यापारी विजेश गौतमबाट५५/५५ हजार रूपैयाँ जरिवाना असुल गरिएको विभागले जानकारी दिएको छ।
रञ्जना आलु प्याज भण्डार र पशुपति आलु प्याज स्टोरका सञ्चालकलाई जनही २ लाख ५० हजार रूपैयाँ जरिवाना गरेको विभागले आरके ट्रेडर्सका सञ्चालकलाइ ३ लाख रूपैयाँ जरिवाना गरेको छ।
त्यस्तै माता सरस्वती खानेपानी लिमिटेलाई २ लाख ५० हजार रूपैयाँ जरिवाना गरेको छ।
बजारमा दिन प्रतिदिन प्याजको मूल्य बढ्न थालेपछि विभाग र काठमाडौं महानगरपालिकाले बजार अनुगमन गर्न थालेको छ। काठमाडौं महानगरपालिकाको संयोजकत्वमा आज कोटेश्वरको तरकारी बजारमा अनुगमन गरेको थियो।अनुगमन गर्दा कोटेश्वरका तरकारी व्यापारी विजेश गौतमले आलु भित्र २९ बोरा प्याज लुकाएर राखेको र उलक शब्जी भण्डारका सञ्चालक ज्योतीनाथ उलकले १३ बोरा प्याज लुकाएर राखेको भेटिएको थियो।
त्यस्तै, दुलाल आलु भण्डारका सञ्चालकले बिल बिजक जारी नगरी प्रतिकेजी ७० रूपैयाँले किनेको प्याज १ सय ४० देखि १ सय ५० मा बिक्री गरेको पाइएपछि तिनै जना व्यापारीको कारोबार रोक्का गरिएको थियो।

You might also like