प्रशोधित पिउने पानीमा लापर्भाहीले समस्या धेरै

 प्रशोधित पिउने भनेर बिक्री वितरण गरिने जार तथा बोतलका पानीको गुणस्तरमा समस्या देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहीबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७७/७८ मा अनुुगमन गरी १६५ वटा नमुना सङ्कलन गरेर परीक्षण गरिएकामा १६ वटा प्रशोधित पानीका उद्योगविरुद्ध मुुद्दा दर्ता गरेको जनाएको छ ।
विभागले आव २०७७/७८ मा खाद्य ऐन र नियमानुसार न्यून गुणस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा एक सय थान मुद्दामध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका १६ वटा मुुद्दा दायर गरेको जनाइएको छ ।
विभागका महानिर्देशक उपेन्द्र रायले गत आवमा दर्ता गरिएका धेरै मुुद्दा प्रशोधित पिउने पानीको भएकाले यसको सुधार गर्न विभागको अनुुगमन केन्द्रित भएको जानकारी दिनुुभयो । उहाँका अनुसार मुुद्दा दर्ता गरिएका प्रशोधित पिउने पानीका उद्योग अधिकांश उपत्यकाबाहिरका रहेका छन् ।सो अवधिमा मुुद्दा दर्ता गरिने बेकरी तथा बिस्कुटका १३ वटा, तेल तथा घिउका ११ वटा, दानाका नौवटा, तयारी चाउचाउका सातवटा, मसलाका सातवटा दालमोठ तथा भुजिया र ससका पाँच/पाँचवटा रहेका छन् भने दलहनका चारवटा र मिठाई, दूध, दही, काजु किसमिस, चामल, बियर, खुर्सानीको धुलोजस्ता विभिन्न खाद्य पदार्थका चारवटा रहेको विभागले जनाएको छ ।
विभाग तथा मातहतका कार्यालयबाट आर्थिक वर्ष २०७७/७८ मा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ऐन नियमानुसार दुुई हजार ८३४ नमुना संलग्न भएकामा सङ्कलित नमुनामध्ये खाद्यान्न/दलहनजन्य ७४७ वटा, तेल तथा घिउजन्य ३८२ वटा, फल तथा सागपातजन्य पदार्थका २९९ वटा, दाना पदार्थका २७४ वटा, मसलाका २६६ वटा, चिया कफीका १२४ वटा, दूध तथा दुग्ध पदार्थका २०६ वटा, प्रशोधित पिउने पानीका १६५ वटा, कन्फेक्सनरीका ९० वटा नमुनाको परीक्षण गरिएकामा २१९ वटा नमुना गुणस्तरहीन रहेको विभागले जनाएको छ । विभागका अनुसार गुुणस्तरहीन नमुनामध्ये विभिन्न खाद्यान्नका ३६ वटा, दानाका ३३ वटा, तेल तथा घिउजन्यका ३० वटा, प्रशोधित पिउने पानीका २७ वटा रहेका छन् ।विभागले सो अवधिमा खाद्य/दाना उद्योग, होटल–रेस्टुरेन्ट, राजमार्गका होटल अनुगमन तथा उजुरीउपर तत्काल सम्बोधन टोलीमार्फत कारबाहीलगायत जम्मा छ हजार १८९ पटक निरीक्षण अनुगमन गरेको जनाएको छ ।विभागले सो अवधिमा मा २२ हजार १८७ खाद्यान्नलाई आयातको अनुमति जारी गरेको जनाएको छ । विभागका अनुसार खाद्य आयात निर्यात निरीक्षण तथा गुण प्रमाणीकरण प्रणालीसम्बन्धी निर्देशिकामा भएको व्यवस्थाअनुसार त्यो परिणामको खाद्यान्नको आयातमा अनुुमति दिएको हो ।आयात गर्नुपूर्व अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरिएका विभिन्न खाद्य पदार्थको आयात अनुमति लिने क्रममा आर्थिक वर्ष २०७७/७८ यसै क्रममा आवश्यक कागजात पूरा नभएका मह, मसला, कन्फेक्सनरी, पेय पदार्थलगायतका विविध खाद्य पदार्थ गरी २३ खाद्य पदार्थका कन्साइन्मेन्टको अनुमति अस्वीकृत गरिएको विभागलेजनाएको छ ।विभागले आव २०७७/७८ मा विभाग तथा मातहतका कार्यालयबाट जम्मा ७८८ वटा होटल–रेस्टुरेन्ट स्तरीकरण गरेकामा ३१ वटा अति उत्तम, ११७ वटा उत्तम, ३३१ वटा सन्तोषजनक र २४४ वटा सामान्य स्तर प्राप्त गरेको जनाएको छ । साथै स्तरीकरणमा नपरेका ६५ वटा होटल–रेस्टुरेन्टलाई सुधारका लागि निर्देशन दिइएको पनि विभागले जानकारी दिएको छ ।
You might also like