विद्युतीय बस खरिदका लागि साझाले पायो ३ अर्ब, कात्तिकदेखि बस सञ्चालन गरिने

काठमाडौं । सरकारले साझा यातायातलाई तीन अर्ब रुपैयाँ प्रदान गरेको छ । तीन सय विद्युतीय बस खरिद गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझालाई उक्त रकम प्रदान गरेको हो ।

साझा सहकारीका अध्यक्ष कनकमणि दीक्षितले सार्वजनिक खरिद ऐनलाई टेकेर चीनबाट विद्युतीय बस खरिद गरिने बताए । विद्युतीय बसहरु बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गमैत्री हुने बताएको छ । काठमाडौं उपत्यका र उपत्यकाबाहिर चल्ने फरक-फरक विशेषता भएका बसहरु खरिद गरिने दीक्षितले बताए । “साझा यातायातले दुई दशकदेखि सार्वजनिक यातायात क्षेत्रमा उदाहरणीय काम गरेकाले सरकारले साझालाई विश्वास गरेको छ,” दीक्षितले भने । सरकारले प्रदान गरेको तीन अर्ब रुपैयाँ साझाको खातामा जम्मा भइसकेको साझा यातायातका कार्यकारी प्रवन्धक महेन्द्रराज पाण्डेयले बताए ।

“मन्त्रालयले विद्युतीय बसका लागि गत आर्थिक वर्षलाई आधारवर्षका रुपमा हेरेको थियो । नीति निर्माणका धेरै कामहरु गएको वर्ष भएका छन्,” मन्त्री रघुवीर महासेठले बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भने, “यो वर्ष कार्यान्वयनमा गएका छौं । साझालाई विद्युतीय बस खरिद र सञ्चालन गर्न रकम दिएर विद्युतीय बस सञ्चालनको योजनालाई कार्यान्वन गरेका छौं ।”

साझाले खरिद गर्ने बसहरु असोजदेखि कार्तिकभित्र उपत्यकामा चल्न सुरु गर्ने मन्त्री महासेठले बताए । सार्वजनिक खरिद ऐनको प्रक्रिया वा जि टु जि प्रक्रियाबाट साझाले विद्युतीय बस खरिद गर्ने पनि महासेठले जानकारी दिए । साझाले विभिन्न चरणमा विद्युतीय बस खरिद गर्ने बताइएको छ ।

“सिन्डिकेट हटेपछि सर्वसाधारणले यातायात क्षेत्र सुधारको धेरै कामहरु हुने अपेक्षा गरेका थिए । विद्युतीय बस सञ्चालन योजना कार्यान्वयन सार्वजनिक यातायात सुधारको एउटा महत्वपूर्ण काम हो । यो चाँडै पूरा हुनेछ,” मन्त्री महासेठले भने ।

You might also like