साउदी जेलमा रहेका थारेश्वरलाई बचाउन जुटे युएईका नेपाली

युएई । ब्लडमनी तिर्न नसकी साउदी जेलमा रहेका नवलपरासीका थानेश्वर भुसालको उद्धारका लागि युएईमा रहेका नेपालीहरु जुटेका छन् । नवलपरासी सेवा समाज यूएईको अग्रसरतामा डिसेम्बर ८ शक्रबार ‘भुसाल बचाउ अभियान’ सुरु गरिएको हो ।

नवलपरासी सेवा समाज यूएईका अध्यक्ष भीम हमालको संयोजकत्वमा यूएईमा संयुक्त रकम संकलन समिति गठन गरिएको हो । हमालको संयोजकत्वमा गठित समितिको उप संयोजकमा नवलपरासीकै महासचिव राज भण्डारी रहेका छन् ।

अभियानका सदस्यहरुमा गोविन्द ढकाल, गणेश ढकाल, हरि चापागाई रहेका छन् ।

यसै गरी एनआरएनए यूएई, नेपाल आदिवासी जनजाति महासंघ यूएई, प्रवासी नेपाली मञ्च यूएई, जनसम्पर्क समिति यूएईबाट एकएक जना प्रतिनिधि थप गर्ने निर्णय भएको नवलपरासी सेवा समाजका महासचिव भण्डारीले बताएका छन् ।

भण्डारीले यूएईका व्यावसायी, जिल्लागत सामाजिक संस्था तथा सहयोगी दाताहरु यस समितिको सल्लाहकारमा रहने निर्णय भएको बताएका छन् । उक्त समितिको लेखा उपसमितिमा नेत्र ज्ञवालीको संयोजकत्वमा, परशुराम पौडेल र राजेन्द्र गैरे रहेका छन् ।

यही डिसेम्बर २२ सम्ममा रकम संकलन अभियान चलाउने र सोही दिन समितिको बैठक संकलित रकम नेपाल पठाउने निर्णय समेत गरिएको छ ।

यस अभियानमा सहयोग गरी भुसाललाई नेपाल फिर्ता पठाउन युएईमा रहेका सबै नेपालीहरुलाई खुल्ला आह्वान गरिएको छ ।

यो अभियानलाई सफल बनाउन युएईमा क्रियाशील सबै नेपाली सामाजिक संस्थाहरु, व्यावसायीहरु, सामाजिक अभियन्ता तथा सर्वसाधारण नेपालीहरुलाई यथाशक्य सहयोग गर्न आग्रह गरिएको छ ।

You might also like