सर्लाहीः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आफूलाई पक्राउ गर्नका लागि तयार रहन सर्लाहीका सिडिओ र एसपीलाई चेतावनी दिएको समाचार आजको नागरिकले दोस्रो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, शनिबार सर्लाहीको दक्षिण–पश्चिम क्षेत्र स्थित गडहिया डुमरियामा आयोजित उखु किसानसँग अन्तरक्रियामा बोल्दै मन्त्री यादवले त्यस्तो चेतावनी दिएका हुन् ।
निकट भविष्यमा उखुकिसानले चिनी उद्योगीबाट भुक्तानी नपाए आफूसमेत किसानको नेतृत्व गरेर सडकमा उत्रने भन्दै उनले त्यस्तो अवस्थामा आफूलाई पक्राउ वा अन्य कारबाही गर्नका लागि तयार रहन प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी र प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईलाई उनले चेतावनी दिएका हुन् ।
‘वर्षौंदेखि उखुको पैसा नपाएर पीडित बनिरहेका किसानलाई निकट भविष्यमै चिनी उद्योगीले भुक्तानी नगरे म किसानसँगै सडकमा आउने छु’, मन्त्री यादवले छेउमै रहेका प्रजिअ र एसपीप्रति ईंगित गर्दै भने, ‘त्यस्तो अवस्थामा कानून विपरित भए किसान भन्दा पनि मलाई कारबाही गर्न तयार रहनुस्।’