बेलुकी आठ बजेपछी सार्वजनिक यातायातमा किन पाउदैन बिद्यार्थीले छुट, ट्राफिक भन्छन यति बज्यो छुट हुन्न भन्न मिल्दैन

काठमाण्डाै/ सवारीमा विद्यार्थीलाई तोकिएअनुसार भाडामा छुटको व्यवस्था छ । तर, उक्त व्यवस्था देखाउने दाँतजस्तो मात्र भएको छ ।आइतबार साँझ करिब ७ः३० बजे । ब्यस्त बजार नयाँ बानेश्वरचोकमा बस तथा माइक्राेबसहरुको भीडभाड थियो । त्यही भीडमा पुरानो बसपार्कबाट ठिमी जाने एउटा माइक्रो पनि यात्रु पर्खिंदै थियो ।

कोटेश्वर, जटिबुटी, कौशलटार, गठ्ठाघर, ठिमी भन्दै चिच्याउँदै माइक्रोबसका सहचालक यात्रु डाकिरहेका थिए । पुरानो बसपार्क बाटै सिट भरिएर आएका उक्त माइक्रोमा नयाँ बनोश्वरचोकमा आइपुग्दा यात्रु खचाखच भरीसकेको थियो । तर पनी उक्त माईक्रो गन्तव्यका लागि अगाडि बढेन । सिटमा बस्ने र उभिने यात्रुले भरिएको माइक्रोभित्र हपक्क गर्मी । उभिएका र बसेका यात्रु पनि पसिनाले भिजेका थिए । छिप्पिँदो साँझमा यात्रुलाई घर जाने चटारो । तर, सिट भरिइसक्दा पनि सहचालकले यात्रु बोलाइरहे । उनी भन्दै थिए–सिट खाली, सिट खाली । आउनुस आउनुस….

साँझ ७ः५० सम्म उभिने यात्रु टन्नै भए । चालकले सहचालकलाई ‘जाने हो ?’ भनेर सिटबाटै सोधे । सहचालकले जवाफ दिए–अब एकछिन बसौं । आठ बज्यो । सहचालक बसको खुड्किलोमा उक्लिए । ढोकामा बसेर भने–ल ल सबै जना मिलेर बसौं, अब जाने ।  अनि उनले थपे–आठ बजेपछि कार्ड छुट हुन्न है ……….

उनले यतिञ्जेल बस रोक्नुको रहस्य बल्ल खुल्यो । खचाखच यात्रुले भरिएको माईक्रो सवा आठ बजे नयाँ बानेश्वरबाट हिँड्यो । माइक्रोमा चढेका सबै यात्रु प्रायः भक्तपुर तर्फै जाने थिए । त्यसैले उनले कसैको पनी माडा उठाएका थिएनन् । माइक्रो कोटेश्वर पुगेपछि थप यात्रु बसमा कोच्चिए । केही यात्रु ओर्लिए । ओर्लीने केही बिद्यार्थी पनी थिए । उनिहरुले नियम अनुसार सहचालकलाई विद्यार्थी कार्ड र भाडा सँगै दिए ।

रिसाउँदै सहचालकले भने–साढे आठ भइसक्यो, अघि नै भनेको होइन, आठ बजेपछि कार्ड छुट हुन्न भनेर ? विद्यार्थीहरु चुपचाप थप पैसा दिएर बाटो लागे । उक्त यात्रामा विद्यार्थी, अशक्त, ज्येष्ठ नागरिक कसैले पनि कार्डबाट छुट पाएनन् । यो त एउटा प्रतिनिधि घटनामात्र हो । सामान्यतयाः काठमाण्डौ उपत्याकामा साँझ परेपछी सार्वजनिक यातायातमा कार्ड छुट पाइदैन ।

सामान्यत: काठमाडौं उपत्यकाको रुटमा सार्वजनिक सवारी प्रयोग गर्दा कार्ड छुटपछि तिर्नुपर्ने भाडा दश रुपैयाँ हो । विद्यार्थी, अशक्त, बृद्ध एवं जनआन्दोलनका घाइतेलगायतले परिचयपत्रका आधारमा बस तथा माइक्रोमा न्यूनतम भाडा दश रुपैयाँ तिर्दै आएका छन् । बसका सहचालकले दश रुपैयाँ तिर्ने यस्ता यात्रुलाई ‘दशको माल’ भन्दा रहेछन् ।

यातायात व्यवस्था विभागको निर्देशिका अनुसार विद्यार्थी, अशक्त, बृद्ध र जनआन्दोलनका घाइतेलगायतलाई दिइने छुटसम्बन्धमा कुनै समय सीमा छैन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथका निमित्त प्रमुख एसपी रविकुमार पौड्यालका अनुसार यात्रु लिएर गुडेको हरेक सार्वजनिक सवारीमा कार्ड छुट लागू हुन्छ । ‘यति बज्यो कार्ड छुट हुन्न कसैले भन्छ भने त्यो गलत हो,’ एसपी पौड्यालले भने, ‘कसैले छुट दिन मानेन भने ट्राफिक प्रहरीलाई तत्काल जानकारी गराउँदा हुन्छ ।’

एसपी पौड्यालका अनुसार यातायात व्यवस्था ऐनअनुसार रुट परमिट पाएर सञ्चालनमा आएका यात्रुवाहक सवारीले आफूखुशी समय तोकेर कार्ड चल्ने नचल्ने घोषणा गर्न पाउँदैनन् । ट्राफिक प्रहरीका अनुसार यात्रुलाई सहुलियत छुट नदिने बसलाई प्रत्येक गल्तीमा पाँच सय रुपियाँ जरिवाना गर्ने कानुनी आधार छ । आफूहरु अन्यायमा परेको जानकारी ट्राफिकलाई गराए लापरबाही शीर्षकमा सवारीचालकलाई कारबाही गरिने प्रहरी बताउँछ ।

सार्वजनिक सवारीमा दिँइदै आइएको छुटसम्बन्धमा बाध्यकारी कानुन नभएको र यसलाई व्यावसायीले व्यवहारिक रुपमा प्रदान गरेको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाको दाबी छ । सरकारले पनि व्यावसायीलाई छुट दिने र सोबापत व्यावसायीले यस्ता छुट गर्ने प्रचलन रहे पनि सरकारले व्यावसायीले दिने छुट कटौती गरेको सिटौलाले बताए ।

‘रुट इजाजत, वार्षिक कर र जाँच पासमा पाउँदै इएको छुट सरकारले कटौटी गरे पनि व्यवसायीले छुट दिन छाडेका छैनन्’ उनले भने, ‘तर हामीले छुट दिन्नौं भने पनि कारबाही गर्न सरकारको कानुनी हैसियत छैन ।’

तर, सार्वजनिक सवारी जतिबेलासम्म चल्छन् त्यति बेलासम्म तोकिएको छुट कार्यान्वयन गर्नुपर्ने यातायात व्यवस्था विभागको निर्देशिकामा प्रष्ट भनिएको छ । ट्राफिक प्रहरीका अनुसार यात्रुलाई सहुलियत छुट नदिने बसलाई प्रत्येक गल्तीमा पाँच सय रुपैयाँ जरिवाना गर्ने कानुनी आधार छ । आफूहरु अन्यायमा परेको जानकारी ट्राफिकलाई गराएको खण्डमा लापरवाही शीर्षकमा सवारी चालकलाई कारवाही गरिने एसपी पौड्यालले बताए ।

बसका यात्रुलाई चालक तथा सहचालकले कुनै पनि प्रकारका दुर्व्यवहार गर्न नपाइने भन्दै त्यस्तो भए तुरुन्त नजिकको सिभिल प्रहरी वा ट्राफिक प्रहरीलाई जानकारी गराउन पनि एसपी पौड्यालले आग्रह गरे ।

सिटौलाले सार्वजनिक यातायातमा हुनै सबै खाले दुर्व्यवहारविरुद्धमा आफू रहेको बताए । यात्रु, चालक तथा सहचालक सबै जना अनुशासित हुनु जरुरी रहेको सिटौलाले बताए ।

तर जजस्ले जे भनेनि बिद्यार्थीकाे पिडा बिद्यार्थी सँग छ । उनिहरूकाे पिडालाइ राज्यकाे हक अधिकार दिलाउने निकायमा कुर्सी हल्लाएर बस्ने कर्मचारी देखी बिद्यार्थीकाे हक अधिकारकाे कुरा गरेर साेही बिद्यार्थीलाइ नै प्रयाेग गरी नेता बनेका नेता ज्यु हरूले यस बिषयमा साेच्ने पाे हाे की ।

You might also like