तपाईलाई थाहा छ ? काठमाण्डौमा कुनैपनि बेला भ्वाङ पर्न सक्छ !

काठमाडौं उपत्यकाभित्र बोरिङका लागि मात्र हजारौं ठाउँमा गहिरो प्वाल पारिएको छ । लाखको संख्यामा गहिरा इनारहरु खनिएका छन् । कुनैबेला ताल रहेको काठमाडौं उपत्यकाको कमलो भूगर्भमा कुनैपनि बेला भ्वाङ पर्न सक्छ । विकासका नाममा विनाश निम्त्याउने आत्मघाती कदम चाल्न सरकार नै लागेको छ ।

जथाभावी बोरिङ गर्न उक्साउनेमा प्रदेश सरकार अगाडि देखिएको छ । प्रदेश सरकारले बोरिङका लागि खानेपानी समितिहरुलाई पैसा खन्याएर आत्मघाती कदम चालेको छ । प्रदेश सरकारको भक्तपुरस्थित कार्यालयले गत वर्ष धेरैवटा वरिङ सम्पन्न गरेको छ । उसले खानेपानी व्यवस्थापन बोर्डलाई समेत बेवासता गरेर चालेको कदमले बोरिङ गरिएका क्षेत्रमा खानेपानीको सतह घट्नुको साथै स्थानीयबीच विवाद समेत बढाएको छ । जनता जुधाउने देखि काठमाडौं भाँस्ने खतरनाक कार्यमा प्रदेश सरकार लागेबाट संघीयता बाँदरको हातमा नरिवल बन्ने अवस्था बन्दैछ ।

कति छन् बोरिङका प्वाल ?
कम गहिराईको प्वाल हजारौं छ । इनारको संख्या एक लाखको संख्यामा छ । गहिरो बोरिङ मध्य अधिकांश अवैध छन् । वैध भएकालाई पनि जथाभावी अनुमति दिएको छ ।

प्रदेश सरकारको बजेटमा उपत्यकामा बोरिङ गरिदै

नियमविपरीत ड्रिलिङ गरेको तथ्य काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई जानकारी छ । तर, शक्तिको आँडमा कारबाही हुन सकेको छैन । गत साउन मसान्तसम्मको तथ्यांकअनुसार कुल बोरिङमध्ये २० प्रतिशतले मात्र बोर्डमा दर्ता गरेका छन् ।

देशको महत्वपूर्ण केन्द्रहरुमा समेत बोरिङ गरिएको छ । सरकारी निकाय, उच्च पदस्थ अधिकारी र विदेशी कूटनीतिक नियोगका कार्यालय तथा अधिकारी बसोबास गरिरहेको घर कम्पाउन्ड, हाउजिङ, अर्पाटमेन्टमा दर्ता नगरी बोरिङ सञ्चालन भइरहेका छन् । सिंहदरबार देखि राजधानीको मुटु सुन्धारास्थित हुलाक कार्यालयभित्र पनि गहिरो बोरिङ छ । यी बोरिङले पानीको शतह घट्दैछ । जसका कारण भविष्यमा जमिन भाँस्सिने खतरा छ । कतिपय स्थानमा जमिन भाँस्सिन थालिसकेको छ । नियमनकारी निकाय खानेपानी व्यवस्थापन बोर्डले समेत यसमा खासै ध्यान पुर्याएको छैन ।

गत आर्थिक वर्षमा प्रदेश सरकारको बजेटबाट काठमाडौं उपत्यकामा सयौं बोरिङ भए । सतहको पानीको विकल्प हुँदा हुँदै रकम आएको भन्दे धेरै खानेपानी समितिहरुले बोरिङ गरे । प्रदेश सरकारको बजेट जथाभावी बाडियो ।
नियमानुसार घरेलु प्रयोजनका लागि ३० मिटरसम्म ड्रिल गरिएको बोरिङ दर्ता गर्नुपर्दैन । तर, काठमाडौं उपत्यकामा दर्ता नगरी एक सय मिटरभन्दा तल ड्रिल गरी पानी निकाल्नेको संख्या बढ्दै छ । होटल, अर्पाटमेन्ट देखि उद्दोग व्यवसायले जथाभावी बोरिङ गरेका छन् । उच्च पदस्थ सरकारी र सैन्य अधिकारीहरुले पनि व्यक्तिगत प्रायोजनका लागि घरमा गहिरो बोरिङ गरेका छन् ।

के हुन्छ बोरिङले ?
जथाभाबी गरिने बोरिङले जमिनको अवस्थामा समस्या ल्याउन सक्छ । जमिन भासिने खतरासमेत आउन सक्छ । माटोमात्र भएको स्थानमा बोरिङ गर्दा भ्वाङ पर्ने खतरा आउँछ । वर्षायाममा पानी जमिनभित्र रिचार्ज हुँदैन । यस्तो अवस्थामा बोरिङले धेरै पानी तान्दा जमिनभित्रको पानीको सतह घट्न जान्छ । बोरिङमा तोकिएको भन्दा बढी पानी तान्दा जमिनभित्र समेत पानीको संकट पर्न जान्छ ।’ वातावरणविद् डा. नरेश रिमाल जभाभावी जमिनमा प्वाल पारेर बोरिङ गर्दा भविष्यमा नकारात्मक असरहरु देखिनथाल्ने बताउँछन् । उनी भन्छन्,‘ जथाभावी ड्रिल गर्दा जमिन खस्ने सम्भावना रहन सक्छ ।’

बोर्डले बोरिङको स्वीकृति दिँदा मासिक कति पानी निकाल्ने भनी मापदण्ड तोकेको छ । तर, तोकिएको भन्दा सयौं गुणा बढी पानी निकाल्नेहरु छन् । यसको कुनै अनुगमन छैन । कतिपय खानेपानी उद्योगदेखि अपार्टमेन्टहरूले दैनिक दश लाख लिटरसम्म पानी निकाल्छन् ।

पानीको व्यापारीहरुले खानेपानी उद्योग संचालन गरी धेरै ठाउँमा बोरिङ खनेका छन् । स्वीकृति एउटाको लिएर धेरै ठाउँमा खन्नेहरु छन् ।
काठमाडौं उपत्यकामा मात्र व्यावसायिक प्रयोजनका लागि ९२, हाउजिङका लागि ७०, आन्तरिक प्रयोजनका लागि ६५ वटा भन्दा बढी बोरिङ सञ्चालनको अनुमति लिइएको छ । अनुमति नलिई संचालन गर्नेहरु उत्तिकै छन् । गत वर्ष होटलका लागि ३६, विभिन्न संस्थाका लागि ३१ र अस्पतालका लागि भन्दै १५ वटा बोरिङ सञ्चालनको अनुमति लिइएको छ ।

सयौं मिटर ड्रिल गरेर बोरिङ गरेकाले काठमाडौंको धेरै स्थानमा पानीको समस्या आइसकेको छ । त्यस क्षेत्रका इनार सुक्दै गएका गुनासा आउन थालेका छन् । इरान सुक्नु भनेको जमिन भाँसिने खतरा हो । भारतको दिल्ली र हरियाणा राज्यहरुमा अत्याधिक बोरिङले पानीको सतह तल गई जमिन भाँस्सिने गरेको छ । हरियाणा राज्यमा पानीको हाहकाकार मच्चिइसकेको छ । बोरिङ खन्दा विगतमा केही मिटरभित्रबाट पानी आउने गरेकोमा अहिले सयौं मिटर तल जाँदा पनि पानी आउन छाडेको छ । त्यहाँ जमिन भाँस्सिएका घटना आइरहेका छन् । नेपालमा पनि अत्याधिक बोरिङले जमिन भाँस्सिने खतरा बढ्नसक्छ ।

You might also like