ठग कर्मचारीलाई पाता कस्ने दिन आउँदैछ : मन्त्री पण्डित

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले कुनैपनि कर्मचारीको अनुहार हेरेर सरुवा, बढुवा नगर्ने दाबी गरेका छन् ।

शुक्रबार कुश्मामा प्रेस संगठन पर्वतले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले स्वेच्छाचारी ढंगले नभइ योग्यता, क्षमता, ज्येष्ठता र प्रणालीको परिधिभित्र रहेर निजामती सेवाका कर्मचारीको बढुवा र जिम्मेवारी तोकिने बताए ।

मुख हेरेर प्रणाली स्थापित हुन नसक्ने भन्दै उनले उचित तवरले निर्णय लिइने बताए । आउँदो कात्तिकभित्र लोकसेवा आयोगले नतिजा प्रकाशन गरिसक्ने बताउँदै उनले त्यसपछि कुनैपनि तहमा कर्मचारीको अभाव नहुने बताए ।

अहिले देशभर झन्डै ३२ हजार कर्मचारीहरुको अभाव रहेको बताउँदै लोकसेवा आयोगले इतिहासमै पहिलोपटक ठूलो संख्यामा कर्मचारीहरु भर्ना गर्न लागेको बताए । उनले यो वर्षदेखि सेवा प्रवाहमा कुनै समस्या नहुनेसमेत दाबी गरे । मन्त्री पण्डितले संघीय निजामती ऐन अन्तिम चरणमा रहेको र छिट्टै संसदबाट पारित हुने विश्वास व्यक्त गरे ।

उनले काम नगर्ने र ठग कर्मचारीहरुलाई पाता कसेर बाँध्नेगरी ऐन आउन लागेको भन्दै काम गर्नेलाई प्रोत्साहन र नगर्नेलाई कारबाही गर्नेगरी ऐन ल्याउन लागिएको जिकिर गरे ।

कार्यालय समयमा कर्मचारी ट्रेड युनियन नहुने र सामूहिक राजीनामा दिनेलाई तत्काल बिदाइ गरिने उनको भनाइ छ । ‘पुराना कर्मचारीहरु कि त रुपान्तरण हुनुपर्दछ कि त हट्नुपर्दछ’–उनले भने ।

You might also like