कश्मीरमा विपक्षी नेताहरुलाई ‘प्रतिबन्ध’

नयाँ दिल्ली (एजेन्सी) । भारत सरकारले जम्मू कश्मीरको विशेषाधिकार खारेज गरेको २० दिन पुगिसक्दा पनि त्यहाँको अवस्था सामान्य बन्न सकेको छैन । यही अगस्ट ५ मा केन्द्र सरकारले संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गर्दै जम्मू कश्मीरको विशेषाधिकार खारेज गरेको थियो ।

केन्द्र सरकारले सो निर्णय गर्नुअघि ४ अगस्टमै जम्मू कश्मीरमा आपतकालिन व्यवस्था लागु गर्दै कर्फ्यू जारी गरेको थियो । सो क्रममा जम्मू कश्मीरभर इन्टरनेट र फोन सेवा अवरुद्ध गरियो भने विद्यालयहरुसमेत बन्द गरियो । ठूलो संख्यामा सेना परिचालनसमेत गरिएको छ । केन्द्र सरकारले जम्मू कश्मीरबारे निर्णय गर्नुअघि पूर्व मुख्यमन्त्रीहरु महबूबा मुफ्ति र उमर अब्दुल्लाहलाई नजरबन्दमा राखेको थियो । उनीहरु अझै नजरबन्दमा छन् ।

पछिल्ला दिनहरुमा जम्मू कश्मीरको कर्फ्यूमा केही खुला गरे पनि त्यहाँको अवस्थाबारे भने पुष्टि भएका खबरहरु आउन सकेका छैनन् । यहीबीचमा विपक्षी नेताहरुले जम्मू कश्मीरको अवस्थाबारे जानकारी लिन भन्दै त्यहाँ जाने प्रयास गरे पनि जम्मू कश्मीर प्रशासनले नेताहरुमाथि अघोषित प्रतिबन्ध लगाएको छ । शनिबार प्रमुख विपक्षी पार्टी काँग्रेस आईका पूर्व अध्यक्ष राहुल गान्धीसहितको विपक्षी नेताहरुको टोली दिल्लीबाट श्रीनगर त पुग्यो तर, श्रीनगरस्थित विमानस्थलबाट बाहिर निस्कन पाएन । गान्धीसहितको टोलीलाई श्रीनगर विमानस्थलबाट फेरि दिल्लीतर्फ फर्काइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

जम्मू कश्मीरको अवलोकन गर्न नपाएपछि राहुल गान्धीले केन्द्र सरकारप्रति आक्रोश पोखेका छन । श्रीनगरबाट फिर्ता भएपछि दिल्लीमा पत्रकारहरुसँग कुरा गर्दै गान्धीले भने, ‘मलाई राज्यपालले जम्मू कश्मीर आउने निमन्त्रणा दिएका थिए । मैले निम्तो स्वीकार गरेँ ।

उनले भनेका थिए, त्यहाँ सबै सामान्य छ । उनले भनेका थिएकी मेरा लागि एक विमान पठाउने छन् । मैले धन्यावाद दिँदै विमान लिने कुरा अस्वीकार गरेँ । तर मैले उनको निम्तो स्वीकार गर्दै भनेको थिए, म आउने छु । म विपक्षका वरिष्ठ नेताहरुसँगै त्यहाँ गएँ । हामी त्यहाँ मानिसहरुसँग भेट्न चाहन्थ्यौं । मानिसहरुको अवस्था के छ बुझ्न चाहन्थ्यौं । र सहयोग गर्न चाहन्थ्यौं । दुर्भाग्य हामीलाई विमानस्थलबाट अगाडि जाने अनुमति दिइएन । वास्तावमा यो निकै दुखद् छ । हामीसँगै सञ्चारमाध्यमहरुमाथि पनि दूव्र्यवहार गरियो । ती मध्ये केहीमाथि हातपात पनि भयो । यसबाट के पुष्टि हुन्छ भने अवस्था निकै खराब छ ।’

राहुल गान्धी अघि जम्मू कश्मीरबाटै प्रतिनिधित्व गर्ने राष्ट्रिय सभामा विपक्षी दलका नेता तथा काँग्रेस नेता गुलाम नबी आजादलाई पनि दुई पटक श्रीनगरबाटै फिर्ता गरिएको थियो । उनले ‘उडिरहेको विमानबाट उजाड कश्मीरको अवलोकन गरेको’ बताएका थिए । आजादभन्दा पहिला भारतीय कम्युनिष्ट पार्टीका महासचिब सिताराम यचुरी र नेता डि राजालाई पनि श्रीनगर विमानस्थलभन्दा अगाडि जानबाट रोकिएको थियो । यतिमात्र होइन कश्मीरी नेताहरुलाई नजरबन्दमा राखिएको छ भने पृथकतावादी आन्दोलन गरेका कश्मीरीहरुलाई त्यहाँको जेलबाट भारतका अन्य राज्यका जेलहरुमा स्थानान्तरण गरिएको छ ।

केन्द्र सरकारले जम्मू कश्मीरको अवस्था सामान्य रहेको दावी गरे पनि द वायर, बीबीसी हिन्दी लगायतका सञ्चार माध्यमहरुले कश्मीरको अवस्था भयाभव रहेको उल्लेख गरेका छन् । न्यूयोर्क टाइम्सले एक समाचार प्रकाशित गर्दै त्यहाँ सामान्य अवस्था नरहेको जनाएको छ । द वायरले जम्मु कश्मीरको तस्वीरहरु प्रकाशित गर्दै ५ अगस्टपछि त्यहाँको अवस्थाबारे जानकारी दिएको छ । द वायरका अनुसार धारा ३७० खारेज गरेको विरोधमा जम्मू कश्मीरमा लगातार प्रदर्शनहरु भइरहेका छन् । सरकारी सुरक्षाकर्मीले आन्दोलनकारीमाथि दमन गरिरहेको छ ।

You might also like