दोलखा खुला दिसामुक्त जिल्ला घोषणा,असोज भित्र नेपाल खुला दिसा मुक्त राष्ट्र घोषणा हुन्छः खानेपानी मन्त्री मगर

दोलखा। दोलखा जिल्ला खुला दिसामुक्त जिल्ला घोषणा भएको छ । जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिकाे आयोजनामा खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम बिच बिहीबार खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।

खुला दिसामुक्त जिल्ला घोषणा सभामा बोल्दै खानेपानी मन्त्री मगरले  याे बर्षकाे असोज भित्रमा नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्ने अभियानमा लागिएको बताउनु भयो । देशैभरि पूर्ण सरसफाइको कार्यक्रमकाे लागि स्थानीय र प्रदेश सरकार सँग समन्वय गरेर सरसफाइ योजना बनाउदै छौँ, उहाँले भन्नुभयो ।  सरसफाइले समाज र देशको प्रतिष्ठा मापन गर्ने भएकाले यसलाई सामान्य कुरा ठान्नु नहुने उहाकाे जाेड थियाे ।

दोलखा जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका गरी नौ वटा स्थानीय निकायहरु छन् । दोलखामा ४५ हजार ६ सय ५८ घरधुरीहरुमा शौचालयहरु निर्माण भएका छन् । खुला दिसामुक्त जिल्लामा दोलखा ६७ औं जिल्ला भएको छ । सार्वजनिक स्थल, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, मठ मन्दिर र सबै घरधुरीहरु गरी दोलखामा शौचालयहरु निर्माण गरी प्रयोगमा आएपछि दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले बताउनुभयाे।

यस्तै राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र कुमार झाले खुला दिसा मुक्त जिल्ला घोषणा हुँदैमा पूर्ण सरसफाइको अभिभारा नहुने भन्दै उहाँले दोलखा जिल्लाबासीलाई अब पूर्ण सरसफाइको अभियानमा जुट्न आग्रह गर्नुभयो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार हिमाली तथा पहाडी क्षेत्रका अधिकाशं जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरि सकिएको छ। कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, मोरङ, काठमाडौँ, सिन्धुपाल्चोक र सोलुखुम्बुलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न बाँकी रहेको विभागले जनाएको छ । सरकारले विसं २०६८ सालमा सरसफाइ गुरुयोजना कार्यान्वयनमा ल्याएपछि उक्त कार्यक्रम अन्तर्गत विसं २०६८ असार १० गते कास्कीलाई पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

You might also like