उपचार गरेर स्वदेश फर्केसँगै प्रधानमन्त्री सक्रिय

काठमाण्डौ – सिंंगापुरमा दुई साता लामो उपचारपछि शुक्रबार स्वदेश फर्किनु भएका प्रधानमन्त्री केपी शर्मा ओली फेरि सक्रिय बन्नुभएको छ । स्वदेश फर्केकै दिन नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटार पुग्नुभएको थियो ।

भेटमा सञ्चो बिसञ्चो मात्रै नभई सरकारको गतिविधि, समसामयिक राजनीतिक अवस्था लगायतकाबारेमा छलफल भयो । यस्तै पार्टी सचिवालय बैठकले गरेको निर्णयका विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । यसैगरी, पार्टी एकताको बाँकी काम टुंगो लगाउने विषयमा समेत दुवै अध्यक्षबीच छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे दाहाललाई जानकारी पनि गराउनुभएको थियो । प्रधानमन्त्री ओली उपचार गर्न सिंंगापुर जानुअघि प्रचण्डलाई पार्टीको जिम्मेवारी दिनुभएको थियो ।

प्रधानमन्त्री सिंगापुरमा उपचाररत रहँदा पार्टी एकतापछि पहिलो पटक प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक बसेर विभिन्न निर्णय गरिएको थियो । त्यस्तै आन्तरिक सर्कुलर पनि अध्यक्ष प्रचण्डको एकल हस्ताक्षरमा जारी भयो । यसअघि दुवै जनाको हस्ताक्षरमा मात्रै यस्तो सर्कुलर हुने गरेको थियो ।

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर रहँदा यता प्रचण्डले दोस्रो पटक सचिवालय बैठक आह्वान गर्नुभयो । तर दोस्रो पटक अध्यक्षता गर्दै बैठक बसाल्ने अवसर प्रचण्डले पाउनुभएन । प्रधानमन्त्री ओली स्वदेश फर्केसँगै अब सरकारको काम र पार्टीको काम दुवैतिर सक्रिय बन्ने देखिएको छ । पूर्व एमालेसम्बद्ध केही नेताहरुसँग प्रधानमन्त्रीले शनिबार छलफल गर्नुभएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न भन्दै पार्टीका महासचिव विष्णु पौडेल र प्रस्तावित उपाध्यक्ष वामदेव गौतम सिंगापुर नै पुग्नुभएको थियो । दुवैजना सँगै फर्कनुभएको छ ।

प्रधानमन्त्री ओलीको आह्वानमा आइतबार मन्त्रिपरिषद् बैठक बसेको छ । अब प्रधानमन्त्रीले पार्टी सचिवालय बैठक डाक्ने तयारी पनि गर्नुभएको छ ।

सिंंगापुरबाट उपचार गरी फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो । स्वास्थ्य उपचार गर्न प्रधानमन्त्री ओली सिंगापुर गएपछि मन्त्रिपरिषदको बैठक बस्न सकेको थिएन । तर प्रधानमन्त्री ओलीले टेलिप्रेजेन्समार्फत सिंगापुरबाटै दुई पटक मन्त्रिपरिषद्का सदस्यसँग छलफल गर्नुभएको थियो ।

नेकपाकै नेताहरु पनि सरकार र पार्टीको जिम्मेवारी फरक फरक व्यक्तिले चलाउनु पर्ने आवाज उठाउँदै आएका छन् । माधवकुमार नेपालले त एक व्यक्ति एक पदको व्यवस्था कार्यान्वयन गर्दै सरकार र पार्टी फरक व्यक्तिले चलाउनु पर्ने भन्दै सचिवालय बैठकमा प्रस्ताव नै गर्नुभएको थियो ।

नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवाली पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमात्रै चलाउनुपर्ने र पार्टी चलाउने एकल जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिनुपर्ने बताउनुहुन्छ ।

नेकपाभित्र अहिले ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को बहस सुरू भैसकेको पनि उहाँले बताउनुभयो । नेकपामा एक व्यक्ति एक पदको कुरा सुरुबाटै उठेको भए पनि अझैसम्म कार्यान्वयनमा भने आइसकेको छैन ।

अर्का अध्यक्ष पुष्पकमल दाहालकै अध्यक्षतामा पार्टी बैठक बस्छ वा फेरि पनि प्रधानमन्त्रीसमेत रहनुभएका केपी शर्मा ओलीकै अध्यक्षतामा बैठक बस्छ त्यो भने आगामी सचिवालय बैठकपछि नै थाहा हुने छ । तर प्रधानमन्त्रीको सकृयता हेर्दा पार्टीको जिम्मेवारी अहिल्यै छोडिहाल्ने देखिँदैन ।

गएको भदौ ५ मा सिंगापुर गएका ओली दुई साता लामो उपचारपछि शुक्रबार स्वदेश फर्किनुभएको हो । मृगौलासम्बन्धी एन्टिबडीको उपचारका लागि सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्री ओलीको उपचार भएको थियो ।

स्वदेश फर्केसँगै प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंंह शाहले प्रधानमन्त्री ओली आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्ने बताउनुभएको थियो ।

You might also like