काठमाडौंको भयावह ट्राफिक जाम : व्यवस्थापन गर्ने कसरी ?

Traffice jam at sundhara – birshopital Road after Temporary police could not manage it since traffic police has been deployed for election, Photo: Keshab Thoker/Nagarik/republica

काठमाडौं उपत्यकाको ट्राफिक जाम कुनै नौलो र अनौठो कुरा होइन । अनौठो र उदेकलाग्दो कुरा चाहिँ यो दशकौंदेखि कायम र जारी छ । उपत्यकाको जनजीवनलाई यसले अत्यन्तै कष्टकर र बेलाबेलामा त अस्तव्यस्त नै बनाउने गरेको छ । तर पनि यसको समुचित समाधान खोज्ने र व्यवस्थापन गर्ने काम अझै हुन सकिरहेको छैन । यस्तो लाग्छ मानौं, ट्राफिक जाम शहरवासीको दैनिक जीवनको अभिन्न हिस्सा नै बनिसकेको छ । हुँदा हुँदा त अहिले आएर जेसुकै कारणले कतै समयमा पुग्न सकिएन भने पनि बहाना चाहिँ ‘ट्राफिक जाम’ भन्ने थेगा जस्तै नै बनिसकेको छ । यस आलेखमा काठमाडौंको ट्राफिक जामलाई के कसरी समाधान र व्यवस्थापन गर्न सकिन्छ भन्ने सन्दर्भमा केन्द्रीत रहेर केही विमर्श–मन्थन गर्ने कोशिस गरिएको छ । ट्राफिक जामको भयावह चित्र आउनुहोस्, सबैभन्दा पहिले काठमाडौं उपत्यकामा ट्राफिक जाम र त्यससँग जोडिएका अव्यवस्थापनको भयावह चित्रलाई साक्षात्कार गराउने केही तथ्यहरुबाट आलेखलाई अगाडि बढाऔं । ० रत्नपार्क–टुँडीखेल वरिपरीको सड्कको लम्बाई दुई किलोमिटर ७२ मिटर छ । त्यहाँ घण्टौं जाम हुन्छ ।

० रत्नपार्कतर्फ गाडी जाने नाकामध्येको कोटेश्वरबाट रत्नपार्कको दुरी ५ किमी ८९ मिटर छ । जावलाखेलबाट ४ किमी ७६६ मिटर, गौशालाबाट ३ किमी ३५६ मिटर छ । पुरानोबानेश्वर, नारायणगोपाल चोक, बालाजु र कालिमाटीबाट पनि ३ देखि ४ किलोमिटर छिचोल्दै हजारौं सवारीहरु दैनिक रत्नपाक–टुँडीखेलतर्फ आवतजावत गर्छन् । ० रत्नपार्क एरियामा एक मिनेटमा १४२ वटा सवारी साधन चल्छन्, अनि दैनिक करिब ५ लाख मान्छेहरु ओहोर–दोहोर गर्छन् । प्रतिमिनेट १४२ वटा गाडी–मोटरसाइकल गुड्ने रत्नपार्क क्षेत्रको सुन्धारा, न्युरोड गेट, सिंहदरबार र नारायणहिटी दरवार संग्रहालय अगाडि ५२ वर्षअघि राखिएको ट्राफिक लाइटको अहिले नामोनिशाना छैन् । आज काठमाडौं उपत्यकाको ट्राफिक जामको विकराल समस्याको केन्द्र त्यही रत्नपार्क–टुँडीखेल भएको छ । ० काठमाडौं उपत्यकाभित्र दैनिक १० लाख सवारी साधन गुड्छ । पछिल्लो समय सिन्डीकेट हटेपछि उपत्यकामा ७६२ वटा ठुला बसहरु थपिए । ठुला बस त थपियो तर साना गाडी हटेन । थप भएका २८ देखि ३२ फिटका ती गाडीले २१ किलोमिटर सड्क ढाक्छ । अर्थात्, सबै गाडीहरुलाई एकैलाइनमा एकैसाथ राख्ने हो भने, रत्नपार्कबाट बनेपासम्म लाइन पुग्ने गरी पछि थपिएका गाडीहरु चलिराखेका छन् । ० सड्क हरेक समस्याहरुको समाधान खोज्ने थलो बन्दै गएको छ । जायज–नाजायज मागहरुलाई पूरा गराउने नाममा, स–सानो निहुँ वा बहानामा पनि जुलुस निकाल्ने र धर्ना बस्ने काम सडकमै हुँदा स्वभाविक रुपमा जाम बढेको छ । ० कार्यालय समय एउटै भएको हुनाले पनि जामको समस्या बढ्दै गएको छ । संघ–संस्था, बैंक तथा सरकारी कार्यालय सबैको कार्यालय समय १०–५ बजे तोकिएको छ । सबैलाई १० बजे कार्यालय पुग्नैपर्ने हुनाले बिहान ९:३० देखि १०:१५ सम्म सवै गाडी उपत्यकाभित्र केन्द्रीत भएर आउँछ, । अधिकांश कार्यालयहरु काठमाडौंको केन्द्रीय भाग वरिपरि नै अवस्थित छ ।

You might also like