ओखलढुंगा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले लहरे पिङको उद्घाटन गरेर आलोचित बनेका छन् ।
एमाले पृष्ठभूमि भएका नेकपाका सांसद सुनुवारले दशैँको फूलपातिका दिन सशस्त्र प्रहरीको कार्यालय नजिकै रहेको सिमलडाँडामा पिङको उद्घाटन गरेका हुन् ।
ओखलढुंगाको विकासका कार्यक्रममा ध्यान नदिएको भनेर आलोचना खेप्दै आएका सांसद सुनुवारले पिङ उद्घाटन गरेर रेकर्ड बनाएको भन्दै टिप्पणी भएको छ ।
नेकपाका सांसद सुनुवारले पिङ उद्घाटन गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
प्रदेश सरकारका मन्त्रीहरूले दुहुनो भैँसीको समेत उद्घाटन र गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिहरूले पिर्कामा सलामी लिएका घटनाको आलोचना भइरहेका बेला नेकपाका सांसद सुनुवारले पिङ उद्घाटन गरेर आलोचित बनेका छन् ।
नेपाली कांग्रेसका खतिवडाले आफ्नो पालामा जिल्लामा ल्याएका पुल, बाटो, स्कूल लगायतका कार्यक्रममा पुगेर हतार हतार रिबन काटेको भनेर आलोचना समेत हुने गरेको थियो ।
प्रतिनिधि सभामा निर्वाचत भएर गएका नेकपाका सांसद सुनुवारले अरु काम गर्न नसकेपछि दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको काम पिङ उद्घाटन गरेर ओलढुंगामा देखाएका छन् ।
पिङ उद्घाटन कार्यक्रममा ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीका प्रमुखदेखि अन्य सरकारी कार्यालयका उच्च व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
संसदमा पनि शून्य र विशेष समयमा सांसद सुनुवारले जिल्लाको समस्याभन्दा पनि बेलायती सेनाका कुराहरू गरेर समय कटाउने गरेका छन् ।
प्रतिनिधि सभाको निर्वाचनमा सांसद सुनुवारले नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडालाई पराजित गरेका थिए ।