प्रधानमन्त्री केपी शर्मा ओली आईसीयुमा, प्रधानमन्त्रीलाई भएको के हो ?

आज बिहानै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिरहेको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दियो । प्रधानमन्त्रीको शरीरमा पानीको मात्रा कम अर्थात् जलवियोजन (डिहाड्रेसन) प्रारम्भिक रिपोर्टमा देखिएको बालुवाटार स्रोतको भनाइ छ ।

“उहाँको शरीरमा पानीको मात्रामा कमी देखियो । औषधिको साइड इफेक्ट हुनसक्छ,” प्रधानमन्त्रीनिकट स्रोतले बाह्रखरीसँग भन्यो, “टीकाको दिनदेखि नै असजिलो महसुस गरिरहनुभएको थियो । टीकाको दिन अलिक धपेडी पनि भयो । शरीरको तापक्रम पनि बढेपछि बुधबार बिहानै भर्ना गरिएको हो । अहिले अवस्था सामान्य हुँदै गएको छ । आजै डिस्चार्ज गर्ने तयारी छ ।”

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने प्रधानमन्त्रीको अवस्था सामान्य रहेको र नियमित फलोअपमात्रै भएको बताएका छन् । “नियमित स्वास्थ्य जाँच हो । त्यस्तो ठूलो समस्या छैन । स्वास्थ्य परीक्षण सकिएपछि उहाँ आजै अपराह्न फर्कनुहुनेछ,” प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको १३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसयता प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् ।

 

You might also like