झापा। नेपाल अलैंची व्यवसायी महासंघको टोली ‘तोदे’ जातको अलैंची अध्ययन अवलोकन गर्न भुटान प्रस्थान गरेको छ । नेपाल अलैंची व्यवसायी महासंघ काभ्रेको संयोजनमा टोली बिहीबार भुटान गएको हो । टोलीमा नेपाली अलैंची व्यवसायी महासंघ बिर्तामोडका कार्यलय प्रमुख अनिल ढुंगाना, अलैंची व्यवसायी महासंघ काभ्रेका अध्यक्ष राजकुमार सापकोटा, पनौती नगरपालिका कृषि तथा पशुपंछी शाखा प्रमुख मणी सापकोटा, अलैंची विशेषज्ञ लगायत रहेका छन् ।
भारत र भुटानको सिमाना आसपासमा पाइने ‘तोदे’ जातको अलैंचीको खेती नेपालमा विस्तार गर्न व्यवसायी जुटेका हुन् । ‘तोदे’ जातको अलैंचीको विदेशमा उच्च माग रहेको अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीले बताए । नेपालमा उत्पादन हुँदै आएको अलैंची भन्दा केही ठुलो र आकर्षक देखिने यो अलैंचीको विश्व बजारमा माग उच्च रहेको उनी बताउँछन् ।
अन्य अलैंची भन्दा तोदे जातको अलैंचीको बजार मूल्य प्रतिकिलो ३०० रुपैयाँ बढी रहेको अध्यक्ष कार्की बताए । तोदे जातको अलैंची उत्पादनका लागि इलामको मंगलबारे र काभ्रेको पनौती नगरपालिकाकोे हावापानी उपयुक्त रहेको विशेषज्ञको भनाइ छ । टोलीले ल्याएको अलैंची दुई विशेष जिल्लामा विस्तार गर्ने महासंघले योजना बनाएको छ । भुटान र भारतको सिमाना ‘तोदे’भन्ने ठाउँमा पाइने उक्त अलैंचीलाई नेपाल भित्र्याएपछि छुटुटै पहिचान दिने महासंघले जनाएको छ । सरकारले सहयोग गर्ने भएपछि व्यवसायीले यसको खेतीसमेत विस्तार गर्न लागेका हुन् ।
पूर्वी नेपालको इलामबाट सुरु भएको अलैंची खेती यतिखेर नेपालका विभिन्न जिल्लामा विस्तार भएको छ । नेपालका ४२ जिल्लामा अलैंची खेतीको सम्भावना रहेको अध्यक्ष कार्कीले बताए । उनले सम्भावना रहेका सबै जिल्लामा अलैंची खेतीको विस्तार गर्न सके उत्पादनले व्यापार घाटा न्यूनिकरणका लागि ठुलो योगदान पु-याउन सक्ने बताए ।