यी हुन् नवनियुक्त मन्त्रीहरुका प्राथमिकता

sf7df8f}F, % dªl;/M gjlgo'Qm dGqLx?sf] zky /fi6«klt ljBfb]jL e08f/L /fi6«klt ejg, zLtnlgjf;df laxLaf/ cfof]lht ;df/f]xdf gjlgo'Qm dGqLx?nfO{ kb tyf uf]kgLotfsf] zky u/fpFb} . tl:a/M k|bLk/fh jGt, /f;;

काठमाडौं। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री र प्रधानमन्त्री केपी ओलीले राज्यमन्त्रीलाई शपथ दिलाएपछि उनीहरु आ–आफ्नो मन्त्रालय पुगेर पदभार ग्रहण गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै मौजुद मन्त्रिपरिषद्बाट ६ मन्त्री र ३ राज्यमन्त्रीलाई जिम्मेवारीमुक्त गर्दै उनीहरूको स्थानमा नयाँ नियुक्ति गरेका हुन्।

बिहीबार पद बहाली गर्दै नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले कर्मचारी समायोजनमा मनोवैज्ञानिक समस्या रहेको बताए। उनले राजनीतिक दलहरूसँग सल्लाह गरेर आफूले यसबारे उचित निर्णय लिने बताए। निजामती क्षेत्रमा विद्यमान नीतिगत र संरचनागत समस्या समाधान गर्दै कर्मचारी प्रशासनलाई चलायमान बनाउने प्रतिबद्धता जनाए।

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयात प्रतिस्थापन गर्दै मुलुकमा उद्योगको विकास र प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएका छन्। औद्योगिक क्षेत्रको विकासबाटै मुलुकको प्रगति र समृद्धि सम्भव हुने भन्दै उनले जनतासँग जोडिएका सेवालाई छिटो, छरितो र गुणस्तरीय रूपमा उपलब्ध गराउन आफू केन्द्रित हुने बताए ।

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्या्दित बनाउन आफू केन्द्रित हुने बताए । उनले अदक्ष कामदार वैदेशिक रोजगारीमा जाँदा मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै सीपयुक्त जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाउने नीति अख्तियार गरिने बताए ।

नवनियुक्त कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले आफू कुनै प्रकारको डर र प्रलोभनमा नपरी मुलुक र जनताको हितमा केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता जनाए ।

यस्तै पद बहालीकै क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न उपयुक्त नीति बनाउने, भएका नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने तथा काम गर्दै जाँदा आइपर्ने समस्या र चुनौतीलाई तत्काल समाधान गर्ने प्रतिबद्धता जनाए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा गम्भीर समस्याका रूपमा समाजमा देखा परेको भन्दै यसको अन्त्यका लागि आफूले आवश्यक पहल गर्ने बताए । उनले महिला, बालबालिका र ज्येष्ठ नागरिकको हितमा इमानदार भएर काम गर्ने प्रतिबद्धता जनाए ।

मन्त्रिपरिषद्मा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ थपिएका हुन् । त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन, भुसाललाई कृषि तथा पशुपक्षी विकास, भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति, यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात र गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।

You might also like