अध्यक्ष–उपाध्यक्ष विवाद : चार महिनादेखि गाउँपालिकाको काम ठप्प
गाउँपालिकाको प्रथम चौमासिकमा गर्नुपर्ने सबै काम अलपत्र परेका छन् । मंसिरको पहिलो साता बितिसक्दा पनि गाउँपालिका नियमित काममा फर्कने कुराको टुंगो छैन । प्रमुख प्रशासकिय अधिकृत र लेखामा काम गर्ने कर्मचारी छैनन् । दसैंपछि कर्मचारीले तलबसमेत पाएका छैनन् । कार्यालय सुनसान छ । जसका कारण गाउँपालिकाका दैनिक कामकारबाहीमा समेत असर परिरहेको छ । असारको अन्तिम साता बसेको गाउँपालिकाको बैठकमा अध्यक्ष गोविन्दबहादुर खड्का र उपाध्यक्ष दीपशिखा दाहाल न्यौपाने पक्षबीच झगडा भएको थियो । दुरागाउँको विद्युतीकरण र विभिन्न तीनवटा सडकमा खर्च भइसकेको ९ करोड ९५ लाख रुपैयाँ विनियोजनको विषयमा दुई पक्षबीच कुरा नमिल्दा गाउँपालिका अस्तव्यस्त भएको हो । अध्यक्ष खड्काले उक्त रकम विनियोजन गर्नैपर्ने दबाब दिएका थिए भने अनुगमन समितिकी अध्यक्षसमेत रहेकी उपप्रमुख न्यौपाने पक्षले अनुगमन गरी ठहरेबमोजिमको मात्र बजेट विनियोजन गर्ने अडान लिएपछि विवाद उत्कर्षमा पुगेको थियो । साउनदेखि लिखु गाउँपालिकाका जनप्रतिनिधि मुद्दामामिलामा उत्रिए । अध्यक्षलाई दुई करोड चन्दा माग गरेर नदिए ज्यान मार्ने धम्की दिएको विषयमा तिल्पुङका बाबुराम तामाङलाई काठमाडौंबाट प्रहरीले पक्राउ गर्यो । यही घटनापछि जनप्रतिनिधिहरू फौजदारीको मुद्दातिर लागे । अध्यक्ष खड्काले उपाध्यक्ष न्यौपाने, वडाध्यक्ष सुवास बोहोरा र नेकपाका नेता ध्रुव कार्कीविरुद्ध फौजदारी मुद्दा दर्ता गरे । गाउँपालिका अध्यक्ष खड्काले जनप्रतिनिधिहरूलाई फौजदारी मुद्दा लगाएको भन्दै नेकपाले अध्यक्ष खड्कालाई पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेको छ । अदालतले उक्त मुद्दामा न्यौपाने, बोहोरा र कार्कीलाई धरौटी लिएर तारेखमा छाडिसकेको छ । अध्यक्ष खड्काले गाउँपालिकाको सबै काम प्रभावित हुनुमा पार्टीको गैरजिम्मेवारपन प्रमुख रहेको बताएका छन् । ‘मलाई कारबाही गरेर गाउँपालिकालाई बन्दी बनाइयो,’ खड्का भन्छन्, ‘मलाई जस्तो कारबाही गरे पनि गाउँपालिका सञ्चालनको वातावरण पार्टीले बनाउनुपर्ने थियो, त्यो बनाइएन ।’ गाउँपालिकाको बैठक बस्ने वातावरण र विकास निर्माणका लागि पार्टी नै संवेदनशील नभएको उनको आरोप छ । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला अध्यक्ष मैनकुमार मोक्तानले अहिले जनप्रतिनिधिहरू पार्टीको निर्देशनमा नरहेकाले यस्तो समस्या आएको प्रतिक्रिया दिए । कान्तिपुरका अनुसार तलदेखि माथिसम्मका जनप्रतिनिधिहरू पार्टीको नीति र निर्देशनमै नरहेकाले पार्टीले भूमिका निर्वाह गर्ने कुरा गौण भएको उनको भनाइ छ । ‘अध्यक्ष र उपाध्यक्ष एकापसमा मिलेर बैठक बोलाएमा विवाद मत्थर हुन्छ,’ उनले भने ।