नेकपामा सभामुखको खोजी सुरु

पुस ५, काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ । बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा यो विषयले प्रवेश पाएको हो । बैठकमा नेताहरूले सभामुख कहिले चयन हुने भनी शीर्ष नेताहरूसँग प्रश्न गर्नुभएको थियो ।
नेकपाका सचिवालय सदस्य माधवकुमार नेपालले व्यक्ति को बन्ने हो त्यो थाहा छैन तर नेकपाबाट नै सभामुख बन्ने निश्चित रहेको बताउनुभयो । संसदीय दलको बैठकमा यसको चर्चा भए पनि छलफल नभएको बताउँदै उहाँले नेकपाले सभामुखमा दाबी गर्ने बताउनुभयो । बैठकमा पार्टी एकता, स्थायी कमिटी बैठक, केन्द्रीय कमिटीको बैठकलाई व्यवस्थित गर्ने विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुरा राख्नुभएको थियो ।
स्थायी कमिटीको बैठक जारी छ । त्यसपछि केन्द्रीय कमिटीको बैठक बसेर पार्टीको कार्ययोजनासहित जनतामा जाने तयारी भइरहेको धारणा राख्दै अध्यक्ष प्रचण्डले त्यसका लागि तयार रहन सांसदलाई निर्देशन दिनुभएको थियो । गोरखापत्र अनलाइनका अनुसार बैठकमा हिउँदे अधिवेशन चल्दा संसदीय दललाई व्यवस्थित तरिकाले अगाडि बढाउने विषयमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले धारणा राख्नुभएको थियो ।

You might also like