प्रदेश नम्बर ३ को ‘बाग्मती प्रदेश’ नामाकरण गरिएको छ । प्रदेशको नाम बाग्मती राख्ने प्रस्ताव प्रदेश सभाबाट आइतवार सर्वसम्मतरूपमा पारित भएको हो ।

नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले राखेको उक्त प्रस्तावको पक्षमा १ सय ८ र विपक्षमा ० मत पर्‍यो । १ सय १० सदस्यीय प्रदेश सभामा १ सय ८ सांसद मतदानमा सहभागी भएका थिए । प्रदेशको नामाकरण र राजधानी तोक्ने सवालमा सतापक्ष-प्रतिपक्ष एकजुट भए ।

यसअघि प्रदेशको स्थायी राजधानी मकवानपुरको हेटौंडा राख्ने प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको थियो । मुख्यमन्त्री समेत रहेका नेकपा संसदीय दलका नेता डोरमणि पौडेलले राखेको उक्त प्रस्तावको पक्षमा १ सय ५ मत पर्‍यो । विपक्षमा जम्मा ३ सांसदले मतदान गरे । १ सय १० सदस्यीय प्रदेश सभामा १ सय ८ सांसद मतदानमा सहभागी भएका थिए ।

राजधानी हैटौंडा तोकिनुअघि विवेकशील नेपाली दलका रमेश पौडेलले काभ्रेको धुलिखेललाई राजधानी बनाउनुपर्ने भनी दर्ता गरेको प्रस्ताव अस्वीकृत भएको थियो । उक्त प्रस्तावको पक्षमा जम्मा ३ मत पर्दा विपक्षमा १ सय १ सांसदले मतदान गरे । सो प्रस्तावमाथिको मतदानमा १ सय ४ सांसद सहभागी भएका थिए ।

प्रमुख सत्तारुढ दल नेकपा केन्द्रीय सचिवालयको निर्देशन र प्रदेश संसदीय दलको निर्णयबमोजिम पौडेलले प्रदेशको स्थायी राजधानी हेटौंडा राख्ने प्रस्ताव दर्ता गराएका थिए । पार्टीभित्र तीव्र असन्तुष्टिका बावजुद् नेपका संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्यण गरेको थियो ।

नेकपाको निर्णयपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि हेटौंडा र बाग्मतीकै पक्षमा मतदान गर्ने निर्णय गरेको हो । यसअघि गण्डकी, कर्णाली र सुदूरपश्चिमले नामाकरण र राजधानी तोक्ने काम सम्पन्न गरिसकेका छन् । प्रदेश १, २ र ५ ले भने अझै पनि नामाकरण गर्ने काम र राजधानीको टुंगो लगाउन सकेका छैनन् ।