सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा आजबाट पार्टीका शीर्ष नेताहरूले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राखि रहेका छन् । सरकार र पार्टीमा कामको समीक्षा सहित अधिकांश एजेण्डा प्रधानमन्त्री केपि शर्मा ओलीसँग सम्बन्धित रहे पनि प्रधानमन्त्री ओली भने बैठकमा उपस्थित हुनु भएको छैन । बैठकको पहिलो दिन नै प्रधानमन्त्रीले आफ्ना धारणा राखेर सदस्यहरूलाई कार्यसूचीमा केन्द्रित भई कुरा राख्न भनिसकेको र उनीहरूले राखेका धारणा प्रधानमन्त्रीसम्म आइपुग्ने भएकाले अन्य काममा व्यस्त भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
दुई अध्यक्ष बीचको सल्लाह अनुसार आजको बैठकको अध्यक्षता पुष्पकमल दाहालले गर्नु भएको छ भने महासचिव विष्णु पौडेलले बैठक सञ्चालन गर्नु भएको छ । बैठकमा अध्यक्ष दाहाल र माधव नेपाल पक्षका नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी गरिरहेका छन् ।