नेपालले विश्व बैंकसँग अहिलेसम्मकै ठूलो ऋण सम्झौतामा हस्ताक्षर गरेको छ ।
विश्व बैंकले रणनीतिक सडक सञ्जाल सुधार र व्यापार सहजीकरण आयोजनाका लागि ५४ अर्ब रुपैयाँ अर्थात ४५० मिलियन अमेरिकी डलर दिने सम्झौतामा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैकका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले हस्ताक्षर गर्नुभएको छ । यो आयोजना विश्व बैंक र नेपालबीच हालसम्म भएको सबैभन्दा उच्च मूल्यको एकल आयोजना हो । कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले यस्ता आयोजना कार्यान्वयनबाट नेपालको आर्थिक वृद्धिमा सहयोग पुग्ने बताउनुभएको छ । मन्त्री खतिवडाले पूर्व पश्चिम राजमार्ग नेपालको लाइफ लाइन भएको भन्दै त्यसको विस्तार सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्नुभयो ।

अर्थसचिव ढुंगानाले उक्त सम्झौता महत्त्वपूर्ण, ऐतिहासिक र रणनीतिक भएको बताउनुभयो । विश्व बैंकका राष्ट्रिय निर्देशक जेर्भोसले नेपाल र विश्व बैंकको सहकार्यमा यो महत्वपूर्ण फड्को भएको बताउनुभयो । थानकोट–मुंग्लिन र कञ्चनपुर–ढल्केबर–पथलैया सडक सुधार कार्यक्रम र व्यापार सहजीकरण आयोजनामा उक्त रकम परिचालन हुने अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले जानकारी दिनुभयो ।००००