राप्रपा नेपालका पूर्वमहामन्त्री सुनिल थापासहित ३१ जनाले संयुक्त रूपमा राजीनामा बुझाएका छन्।

राप्रपाका अध्यक्षत्रयलाई सम्बोधन गर्दै थापासहित नेताहरूले शनिबार राजीनामा बुझाएका हुन्। थापा राप्रपा एकता हुनुअघिदेखि नै पार्टीमा असन्तुष्ट थिए।
पार्टीमा संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको निधनसँगै सैद्धान्तिक र वैचारिक मान्यतामा पनि बिचलन देखिएर दिशाविहीन भएको आरोप उनीहरूको छ।
अहिलेसम्म पार्टीमा साथ दिनेहरूलाई पनि उनीहरूले धन्यवाद दिएका छन्।
पूर्वमहामन्त्री थापा संस्थापक अध्यक्ष सूर्यबहादुरका छोरा हुन्। उनी राप्रपा एकता हुनुपूर्व राप्रपा नेपालका महामन्त्री थिए।

यस्तै विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ शाह, वीरेन्द्रलाल कर्णलगायत ३१ जनाले संयुक्त रूपमा राजीनामा दिएका हुन्।
थापासहित नेताहरुले राप्रपामा गणतन्त्रको कुरा उठाइरहेका थिए।
राप्रपा नेता मोहन श्रेष्ठले राजीनामा दिएका नेताहरूलाई आफ्नो निर्णय पुनःविचार गर्न आग्रह गरेका छन्।