काठमाडाैं । सोमबारबाट फेरि मनसुन सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भागतिर सरिरहेकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मनसुन फेरि सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनु भएको छ ।

यो वर्ष नेपालमा जेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो । त्यसैदिन मुलुकका विभिन्न क्षेत्रमा वर्षा भएको थियो भने पर्वतलगायत केही स्थानमा बाढी पहिरोले जनधनको समेत क्षति भएको थियो ।

त्यसयता पटक–पटक ठाउँ–ठाउँमा ठूलो वर्षा भएको छ । असार २५ देखि २९ सम्म न्यूनचापीय रेखा नेपाल नजिक आउँदा मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको थियो ।

त्यही वर्षाका कारण म्याग्दी, कास्की, जाजरकोट र सिन्धुपाल्चोकमा ठूलाठूला पहिरो खसेर जनधनको क्षति भएको छ । यो पल्ट मनसुन सक्रिय भएपछि अहिलेसम औसतभन्दा निकै धेरै पानी परिसकेको छ । तर, अझै केही दिन बाढीपहिरो र डुबानको जोखिम कायमै रहेको मौसमविदहरुले जनाएका छन् ।