अमेरिकाले एमसीसीका विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेको छ ।
आज नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर एमसीसीका विषयमा चासो राख्नु भएको हो । सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित भएका बेला बेरीले मन्त्री पोखरेललाई भेट गर्नुभएको हो । राजदूत बेरीले विश्वका अन्य देशहरुबाट माग भइरहेको सन्दर्भमा नेपालले ढिला गरिरहेको भन्दै चासो राख्नु भएको रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता सन्तबहादुर सुनारले बताउनु भयो । भेटमा रक्षामन्त्री पोखरेलले एमसीसीका विषयमा सरकारले गम्भीर छलफल गरिरहेका जानकारी गराउनु भएका प्रवक्ता सुनारले बताउनु भयोे ।
भेटमा राजदूत बेरीले छिमेकी भारतमा एक दिनमा लाख बढी जनतामा कोरोना पोजेटिभ देखिएको सन्दर्भमा नेपालले बनाएको योजना बारे पनि चासो राख्नु भएको थियो । अमेरिकाले सुरुमा केही कमजोरी गरेका कारण अहिले समस्या बढेर गएको उल्लेख गर्दै बेरीले संक्रमण नियन्त्रण गर्दै आर्थिक गतिविधि सञ्चालनका लागि सावधानी अपनाउन आग्रह गर्नु भएको थियो ।