पदको लाज जोगाउनुस् : प्रधानमन्त्रीका मुख्य सल्लाहकारले नेकपा प्रवक्तालाई भने

काठमाडौँ — नेकपा स्थायी कमिटी सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको भूमिकालाई लिएर तीव्र असन्तुष्टि जनाएका छन् ।
नेकपाभित्रको पछिल्लो अन्तरसंघर्षमा प्रवक्ता श्रेष्ठ पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा छन् । त्यही समूहमा बसेर काम गरेको विषयलाई लिएर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकारले नेकपा प्रवक्तामाथि टिप्पणी गरेका हुन् ।
सल्लाहकार रिमालले प्रवक्ता श्रेष्ठलाई ट्विटरमा मेन्सन गर्दै विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्न आग्रह गरेका छन् ।
रिमालले ट्विटरमा लेखेका छन्, ‘इनफ इज इनफ नारायणकाजी श्रेष्ठजी कमसे कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् । विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ! पार्टी एकताविरूद्धका कुनै पनि गतिविधि कतैबाट पनि नहोस् ! मुलुक संवेदनशील मोडमा छ महसुस होस् ! ’

केही दिनअघि अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल र प्रवक्ता श्रेष्ठले संयुक्त रुपमा पत्रकार भेला गरेर आफ्ना असन्तुष्टि राखेका थिए ।

You might also like