ब्रिटिस आर्मीमा ३४० र सिंगापुर पुलिस फोर्समा १४० जना भर्ती गर्ने तयारी
काठमाडौँ — कोरोनाको कारण जनाउँदै बेलायत सरकारले ब्रिगेड अफ गोर्खाजका निम्ति यस पटक ब्रिटिस आर्मीमा ३ सय ४० र सिंगापुर पुलिस फोर्समा १ सय ४० जना मात्र भर्ती गर्ने भएको छ ।ब्रिटिस आर्मी मुख्यालयले मंगलबार आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रतिस्पर्धी नेपाली युवालाई उक्त जानकारी दिएको हो । गत वर्ष ब्रिटिसमा ४ सय ३२ र सिंगापुरमा २ सय २० भर्ती लिइएको थियो । कोरोना महामारी फैलिएपछि गत वर्ष क्षेत्रीय र अन्तिम चरणको छनोटबाट बाहिरिएकामध्ये सीमित युवालाई मात्र मौका दिइने मुख्यालयले यसअघि जनाउ दिइसकेको छ ।
सिंगापुर पुलिस‘ रब्रिटिस गोर्खा आर्मीका सम्भावित रेक्रुटहरू, कोरोना भाइरसको अवस्था नेपालमा मात्र नभएर संसारभरि नै अनिश्चित छ,’ ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइटमा भनेको छ, ‘जसले गर्दा हाम्रो छनोट प्रक्रियामा बाधा हुन सक्ने सम्भावना छ । अति नै संकटकालीन अवस्था आइपरेमा यो वर्षको छनोट नहुन पनि सक्छ । तर छनोट भएमा हामी सक्दो सुरक्षित ढंगबाट यो छनोट प्रक्रियालाई सञ्चालन गर्ने प्रयास गर्नेछौं ।’ छनोटका निम्ति ब्रिटिस आर्मीका लागि ५ सय ६० जना सम्भावित रेक्रुटलाई बोलाएर तीमध्ये ३ सय ४० जनालाई छनोट गर्ने विज्ञप्तिमा भनिएको छ । सिंगापुर पुलिसका लागि २ सय १० जना सम्भावित रेक्रुटलाई बोलाएर त्यसमध्येबाट १ सय ४० जनालाई छनोट गर्ने जनाइएको छ ।

काठमाडौंस्थित क्लास रुम एकेडेमीका प्रबन्ध निर्देशक विनोद राईले ब्रिटिस आर्मीमा भिड्दै आएका युवामध्ये सीमितले मात्र अवसर पाएको बताए । ‘ब्रिटिस आर्मी मुख्यालयले यो पटक सीमित युवा मात्र सर्ट लिस्टमा पारेको छ,’ उनले भने, ‘नेपालको पूर्व र पश्चिम गरी क्षेत्रीय छनोटबाट आधा–आधा संख्यामा युवा छनोटमा परेका छन् ।’