बैंकिङ कसुरमा १२ करोड जरिवाना र तीन वर्ष कैद तोकिएकी एक महिलाअभियुक्त बनेपाबाट पक्राउ

बैंकिङ कसुरमाउच्च अदालत पाटनले झन्डै १२ करोड रुपैयाँ जरिवाना र तीन वर्ष जेल सजाय तोकिएर फरार भएकी एक महिला अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बनेपा-४ श्रीखण्डपुरकी ५६ वर्षीया जयन्ती केसी छिन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार केसीलाई बिहीबार दिउँसो बनेपाबाट पक्राउ गरिएको हो।
काभ्रेका प्रहरी उपरीक्षक रवि पौडेलका अनुसार केसीलाई घरबाहिर लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।
केसीलाई उच्च अदालत पाटनले बैंकिङ कसुरमा २०७१ साल वैशाख २९ गते ११ करोड ८२ लाख ९२ हजार ११६ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।
फैसलायता उनी फरार थिइन्। फरार अभियुक्तको खोजी सिलसिलामा केसीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक पौडेलले बताए।
केसीलाई जरिवानासँगै तीन वर्ष कैद हुने फैसला अदालतले गरेको थियो।
पौडेलका अनुसार केसीलाई इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले पक्राउ गरेको हो।
उनलाई बिहीबार नै फैसला कार्यान्वयनको लागि अदालत पेश गरिएकोमा काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलले कैद र जरिवाना भुक्तानको लागि कारागार पठाएको छ।

You might also like