झापा , झापाको गौरादहमा हिंजो (सोमबार) एक महिलाको बीभत्स रुपमा हत्या गरिएको अवस्थामा शव फेला परेको छ । गौरादह बजार पूर्व जानकिश्वर शिवालय मन्दिर नजिक रहेको आफ्नै घरमा निर्ममतापूर्वक हत्या गरिएको अवस्थामा ६५ वर्षीया महिला पार्वता भण्डारीको शव फेला परेको हो ।
मृतक पार्वताको टाउकोमा गहिरो चोट लाग्नुका साथै हात पछाडि लगेर बाँधिएको र रगतले लतपत भएको अवस्थामा खाटमुनी शव फेला परेको अनुसन्धानको क्रममा पुष्टी भएको छ । मृतक महिलाको कमल गाउँपालिका-१ बालुबाडी स्थायी ठेगाना भएपनि गौरादह-१ मा पनि घर रहेको र सोमबार बिहान करिब ११ बजे श्रीमान, श्रीमती दुवैजना गौरादहमा रहेको घरमा आएको स्थानीयबासीले बताएका छन् ।
सोमबार बिहान दुवैजना श्रीमान, श्रीमती गौरादहमा आएको र दिउँसो करिब १ बजे मृतक महिलाको श्रीमान भिम भण्डारी गौरीगंज तिर गएको बेला श्रीमती घरमा एक्लै भएको समयमा सो घट्ना भएको खुल्न आएको छ ।
मृतक महिलाको श्रीमान गौरीगंजबाट घरमा आउँदा श्रीमतीकोे बीभत्स रुपमा हत्या भएको अवस्थामा शव देखेपछि स्थानीयबासी तथा प्रहरीलाई खबर गरिएको थियो ।
घट्नाको प्रकृति हेर्दा र स्थानीयबासीको भनाइ अनुसार घरमा रहेका कुनै पनि सामग्री चोरी नभएको साथै मृतक महिला र हत्यारा बीच केही हातपात भए जस्तोदेखिने साथै शवको छेउमा लुगाहरु छरिएको अवस्थामा रहेको स्थानीयबासीले बताएका छन् ।

मृतक महिलाको हत्याराको खोजी कार्यका लागि नेपाल प्रहरीले राष्ट्रिय अनुसन्धान विभागको तालिम प्राप्त कुकुर लैला ल्याइएको थियो । अनुसन्धानको क्रममा कुकुरले मृतकको शव रहेको घरदेखि ३ किलोमिटर पूर्व स्थानीय सिस्ने खोलाको पुल सम्म पुगेर केही समय कुकुर अल्मलिएर पूनः हत्या भएको घर तिर नै फर्किएको थियो ।
यस्तै, अनुसन्धानको क्रममा प्रहरीले घर पछाडी रहेको धान बारीमा कृषि विकास बैंकको चेक समेत भेटाएको छ भने, बाथरुममा रु.१० को नोट फेला पार्नुका साथै बाल्टिनमा ज्याकेट भिजाएर राखिएको र जमिनमा लागेको रगत पुछेको जस्तो देखिएको हाम्रा स्थानीय सम्बाददाता सबिन खनालले जानकारी दिएका छन् । घट्नाको विषयमा जिल्लाको सम्पूर्ण सुरक्षा निकाय अनुसन्धानमा जुटेको छ चाडै नै सत्य तत्थ्य आउनेमा स्थानीयले बिस्स्वास गरेतापनि दिनदहाडै भएको बीभत्स हत्याको घट्नाले गौरादह नगर बासीमा एक प्रकारको त्रास फैलिएको छ । अहिले घट्नास्थलको घर सुरक्षाकर्मीको नियन्त्रणमा छ । ।घट्नाको मुचुल्का उठाई राती करिब ११ः३० बजे शव पोष्टमार्टमका लागि दमकको आम्दा अस्पताल पठाइएको छ । मृतक महिलाको एक श्रीमान, २ छोरा र १ छोरी रहेका छन् ।