म्याद गुज्रेको सामानमा रि लेबलिङ गरेको आरोपमा पक्राउ परेका ७ जना शुक्रबार हाजिर जमानीमा छुटेका छन्।
वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका निर्देशक सागर मिश्रका अनुसार रोनक बोथ्राबाहेक अन्य सात जनालाई हाजिर जमानीमा छाडेको हो।
आयान डिस्ट्रिब्युटर प्रालि सञ्चालन गर्ने भारतस्थित राजेस्थानका रोनक बोथ्राले म्याद गुज्रेका स्निकर्स चकलेट, ओरियो बिस्कुट, ट्याङ जुस, प्रिङकल्स चिप्स, युनिलिभरका सामानमा रिलेबलिङ गरी बच्दै आएका थिए।
बिहीबार महानगरीय अपराध महाशाखाको टोली कलंकीको गोदाममा छापा मारेको थियो। त्यसपछि प्रहरीले बोथ्रासहित आठ जनालाई पक्राउ गरेको थियो।
विभागका निर्देशक मिश्रका अनुसार बोथ्राले आफ्नो गल्ती स्वीकारेका छन्।
‘बोथ्राले आफूले गरेको काम सबै स्विकार गरिसकेको छ। हामीले उहाँलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएका छौं।पुष्पादेवीलाई भने हामीले अस्ती हाजिर जमानीमा छोडेका हौं। आज हाजिर भइसक्नु भएको छ,‘ उनले भने।
विभागले ६५ वर्षीया पुष्पादेवी अग्रवालसँग एक करोड धरौटी माग गरेको छ। बोथ्राले चलाउदै आएको उक्त डिस्ट्रिब्युटर पुष्पादेवी अग्रवालको नाम दर्ता गरिएको थियो।
‘उहाँको फर्म दर्तामा मात्रै दोष देखिएको छ। यस काममा कुनै संलग्नता देखिएको छैन। अरू उहाँलाई केही पनि थाहा छैन,‘ उनले भने।
आइतबार उनले धरौटी बुझाउन नसकेमा हिरासतमै जाने निर्देशक मिश्रले बताए। अग्रवालका छोरा भने अहिले फरार छन्। बोथ्राले उक्त फार्म पुष्पादेवीको छोराको सहयोगमा दर्ता गराएका थिए।
त्यस गोदामबाट पक्राउ परेका कामदारहरू पनि हाजिर जमानीमै छुटेका हुन्। उनीहरूलाई विभागले कामदार मात्रै भएको र दुई महिनादेखि तलब समेत नपाएको भन्दै छाडेको हो।
‘कामदारहरूले दुई महिना देखि तलब पनि पाएका छैनन्। उनीहरू अरूको निर्देशनमा चलेका हुन्। अहिले उहाँहरू सम्पर्कमै हुनुहुन्छ। विस्तृत अनुसन्धानबाट उनीहरूको दोष देखिएमा मुद्दा चल्न सक्छ,‘ उनले भने।
हाजिर जमानीमा छुट्नेमा रौतहटका गोदामका स्टोरकिपर पप्पु ठाकुर, अकाउन्टेन्ट मुन्ना ठाकुर, महोत्तरीका श्यामप्रसाद सिंह, कुलेश्वर बस्ने रामबहादुर बयलकोटी, कलंकी बस्ने सीताराम उपरकोटी र बाफल बस्ने दिलिप थापा मगर छन्।
म्याद गुज्रेको सामानमा ‘नयाँ डेट’ राख्ने सात जना हाजिर जमानीमा छुटे, पुष्पादेवीसँग एक करोड धरौटी मागियो
You might also like