नुवाकोट — जिल्लामा नियमविपरीत मेडिकल र औषधि पसल चलाउनेहरू कारबाहीमा परेका छन् । औषधि व्यवस्था विभाग काठमाडौं र जिल्ला प्रहरी कार्यालयको टोलीले तीनवटा पालिकामा अनुगमन गरी त्यस्ता मेडिकल तथा फार्मेसी सिल गरेको हो ।टोलीले म्यागङ गाउँपालिका, तादी गाउँपालिका र सदरमुकामस्थित विदुर नगरपालिकाका मेडिकल तथा फार्मेसीको अनुगमन गरेको हो ।
म्यागङ–३ देउरालीस्थित छायानाथ मेडिकल र देउराली फार्मेसी दर्ता नै नरहेको पाइएपछि सिल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै टोलीले विदुर नगरपालिका–२ स्थित सापकोटा मेडिकल हल, वडा नं ४ का सम्मान मेडिकल हल, बट्टार पोलिक्लिनिक र विदुर फार्मेसी, वडा नं १ समीर फार्मेसीले बिलबीजक जारी नगरी औषधि बेचेको फेला पारेको छ । तिनका सञ्चालकलाई उपभोक्ता हित संरक्षण ऐनबमोजिम जनही २ लाख रुपैयाँ जरिवाना गरिएको छ । उक्त जरिवाना रकम सात दिनभित्र बैंकमा दाखिला गरिसक्न टोलीले निर्देशन दिएको छ ।

यसै गरी खरिद बिल नरहेका तादी–३ स्थित तादी फर्मा र दुप्चेश्वर फार्मेसीका सञ्चालकलाई १० हजार जरिवाना तोकिएको छ ।