सरकारले पर्याप्त मात्रामा मल खरिद गर्न नसक्दा बजारमा मलको हाहाकार

 सरकारले पर्याप्त मात्रामा मल खरिद गर्न नसक्दा बजारमा मलको हाहाकार

काठमाडौं । सरकारले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसक्दा बजारमा मलको हाहाकार मच्चिएको छ । बजारमा मल नपाएपछि कृषक चिन्तित बनेका छन् ।

मागको अनुपातमा अत्यन्त कम मल ल्याएर कनिका छरेजस्तो छरेर मलको हाहाकार मच्चाउन सरकार स्वयं लागिपरेको किसानहरूको गुनासो छ । पर्याप्त मात्रामा मलको आपूर्ति हुन नसकेपछि उपलब्ध मलमा नै लुछाचुँडी गर्न किसानहरू बाध्य हुनुपरेको छ । कृषिप्रधान देश नेपालमा धान लगाउने मुख्य समयमा नै रासायनिक मल नपाएपछि किसान नराम्ररी पिरोलिएका छन् । तर, सरकारले किसानको यो अवस्थाप्रति मूकदर्शक बन्नु र मल आपूर्तिलाई सहज बनाउनेतर्फ कुनै ठोस र प्रभावकारी प्रयाससमेत गर्न नसकेको पाइएको छ । खेतीको मुख्य सिजनमा प्रत्येक वर्ष नेपाली किसानले मलको अभाव झेलिरहेका छन् । सरकारले कृषि र किसानलाई मुख्य प्राथमिकतामा राखेको भने पनि यी दुवै क्षेत्र जहिले पनि राज्यद्वारा अपहेलित र उपेक्षित भएको गुनासो किसानको छ ।

राष्ट्रिय उत्पादनमा एक तिहाइ भूमिका निर्वाह गर्ने र दुई तिहाइ जनताको जीविकोपार्जनको मुख्य पेसा रहेको कृषि क्षेत्रलाई सबल र सक्षम बनाउने बेलामा खेतमा मल हाल्न नपाएपछि खेतबारीमा काम छोडेर विभिन्न जिल्लामा किसान आन्दोलित भएका छन् । पहाडका कति जिल्लामा धान रोपाइँ सुरु भइसकेको छ । भने तराई जिल्लामा असार पहिलो सातादेखि धान रोपाइँ गर्ने तयारीमा छन् । तर, किसानले खेतमा राख्ने मलको अभावबाट पीडित भएको खबर आजको राजधानी दैनिकमा छ।

You might also like