अवरुद्ध मध्यपहाडी लोकमार्ग खुला
बागलुङ । गलकोट नगरपालिका–९ मल्म, बाँस्खोलामा पहिरो जाँदा बिहीबार साँझदेखि अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग केहीबेर अघि खुलेको छ ।
डोजर लगाएर पहिरो पन्छाएपछि यातायात सुचारु भएको वडाअध्यक्ष तेजबहादुर थापाले जानकारी दिनुभयो ।
लोकमार्ग अवरुद्ध हुँदा जिल्लाका पश्चिम भेगबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन बीचमै रोकिएका थिए
। यस्तै सदरमुकामदेखि बुर्तिबाङ, खरबाङलगायतका ठाउँ पुग्ने सवारी साधन चल्न सकेका थिएनन् । लोकमार्ग खुलेपछि सवारी साधन गन्तव्यतिर लागेका छन् ।
बिहीबार साँझ परेको वर्षापछि माथिबाट आएको भेल लोकमार्गमा थुप्रिएपछि पहिरो खसेको थियो ।
पहिरोसँगै बगेको लेदो स्थानीयवासीको खेतमा पस्दा धानबाली नष्ट भएको छ । भर्खर रोपाइँ भएका खेत बगरमा परिणत भएका वडाअध्यक्ष थापाले बताउनुभयो ।
पन्ध्र किसानका खेतमा बाढीले क्षति पु¥याएको छ ।
किसानले क्षतिपूर्ति माग गर्दै बिहान राजमार्गको पहिरो पन्छाउने कार्यमा केहीबेर अवरोध खडा गरेका थिए ।
लोकमार्गबाट सिरवारे गाउँ जाने सहायक सडकबाट ढुङ्गा, माटोसहितको लेदोले पहिरो निम्ताएको स्थानीयवासी बताउँछन् ।