मुलुकमा स्थायी शान्ति र समृद्धि जरुरी

मुलुकमा स्थायी शान्ति र समृद्धि जरुरी

काठमाडौ । पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकमा स्थायी शान्ति र समृद्धि जरुरी रहेको बताएका छन् । बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अब देशले कुनै पनि आन्दोलन थेग्न नसक्ने भएकाले शान्तीपूर्ण बाटोबाट समस्याको समाधान खोज्नुपर्ने बताए ।

लामो सङ्घर्षबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गरी समृद्धि हासिल गर्नतर्फ सबै लाग्नुपर्ने पूर्वराष्ट्रपति यादवको धारणा राखे । उनले सङ्घीयतामार्फत देशले तीन तहको सरकार प्राप्त गरेकाले जनताका आवश्यकता पूरा गर्नतर्फ ध्यान दिनुपर्ने बताए । “संविधानमार्फत सबै भाषाभाषी र क्षेत्रका अधिकार सुनिश्चित गरिएको छ । अब देखिएका समस्या संसद्मा छलफल गरेर संवैधानिक प्रक्रियाबाट हल गर्नुपर्छ”, उनले भने ।

मुलुकमा लोकतन्त्र स्थापना गर्न पत्रकारको महत्वपूर्ण भूमिका रहेकाले लोकतन्त्रको पहरेदार बनेर यसको रक्षा गर्नुपर्ने पूर्वराष्ट्रपति यादवको भनाइ थियो । “पत्रकारलाई नै देशको विषयमा बढी जानकारी छ । के सही के गलत छुट्याएर खबरदारी गर्नुपर्छ”, उनले भने । अझै पनि मुलुकमा स्थायी शान्ती कायम नभएका कारण सबै सचेत रहनुपर्नेमा उहाँले जोड दिए । सत्य निरुपण र बेपत्ता आयोगलाई सक्रिय बनाई राष्ट्रियस्तरबाटै समस्याको हल खोजिनुपर्ने पूर्वराष्ट्रपति यादवले बताए ।

You might also like