एपीएफले थ्रीस्टारक्लबलाई ५–२ गोलले हरायो
काठमाडौं । एपीएफ क्लबले ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । एन्फा मैदान सातदोबाटोमा सोमबार भएको खेलमा एपीएफले थ्री स्टार क्लबलाई ५–२ गोलले हरायो ।
एपीएफको जितमा रन्जन पुनले दुई गोल गरे । विपिन थापा मगर, समिरज थोकर र रोशन प्रधानले एक–एक गोल गरेका थिए । थ्रीस्टारका दिप्सन राउत र सुमन श्रेष्ठले गोल गरेका थिए ।
समूह ‘बी’ रहेको एपीएफले पहिलो जितसँगै तीन अंक बनाएको छ । दुई खेल सकेको थ्रीस्टारको यो पहिलो हार हो । यसअघि पहिलो खेलमा थ्री स्टारले मनाङ मस्र्याङ्दी क्लबलाई २–२ गोलको बराबरीमा रोकेको थियो । यसैगरी समूह ‘ए’ को अर्को खेलमा एनआरटी र संकटाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
एनआरटीका लागि बिबेक राईले गोल गरे । संकटाका अबि पहारीले बराबरी गोल फर्काएका थिए । प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजित प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ ।