काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तयारीपछि मुलुकमा भित्रिने र मुलुकभित्र उत्पादन हुने तरकारी र फलफूलमा रहेको विषादी परीक्षण गरिने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले भारतबाट आयातित हुने तरकारी र फलफूलमा हालका लागि विषादी परीक्षण रोक्नुको कारणबारे बताएका थिए। उनले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यथेष्ट तयारी बिना नै भारतबाट आयातित हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको भन्दै अब तयारीका साथ सरकार अगाडि बढ्ने जानकारी दिएका थिए।
संसदमा प्रधानमन्त्रीले दिएको जवाफ उल्लेख गर्दै सांसद रामकुमारी झाँक्रीले भनिन्, सांसदहरूले बोल्ने क्रममा भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण किन रोकिएको भनेर जवाफ माग्नुभएको थियो। तयारी नभएकाले हालका लागि स्थगित गरिएको प्रधानमन्त्रीज्यूको जवाफ थियो। मन्त्रिपरिषदको बैठकले सीमानामा परीक्षण गर्ने प्रविधि र जनशक्ति तयार गर्ने निर्णय गरेको जानकारी दिए ।