रामेछाप/रामेछापको खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को निति, कार्यक्रम तथा वजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको केन्द्र माकादुममा पाँचौँ गाउँसभामार्फत गाँउपालिका प्रमुख प्रेम तामाङले ६२ करोड २६ लाख ११ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् । बजेटमा शिक्षा,स्वास्थ्य,खानेपानी,पर्यटन तथा पुर्वाधार विकाश लगायतलाई प्राथमिकतामा राखीएको छ ।
कृषि तथा पशुपालन,पर्यटन,शिक्षा,स्वास्थ्य,सरसफाई,खानेपानी,सिंचाई,विपद व्यवस्थापन,खेलकुद तथा यातायात व्यवस्थापन लगाएतका क्षेत्रलाई पालिकाको बजेटले प्राथमिकता दिएको छ ।
गाँउपालिकाले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपालन क्षेत्रको निश्चित मापदण्ड बनाई पकेट क्षेत्र,सुपर जोन कार्यक्रम लागु गर्ने,पालिकालाई दुध,मासु अण्डा लगाएतमा आत्मनिर्भर बनाउन विशेष कार्यक्रम संचालन गर्ने कार्यक्रम तय गरेको छ ।
किसानलाई सहुलियत ऋण र अुनदान तथा एक वडामा एक कृषि प्राविधिकको समेत व्यवस्था गर्ने भएको छ । त्यस्तै गाँउपालिकाको शैक्षिक सुधारका लागी खाँडादेवी शैक्षिक सुधार कोष खडा गरी २०८५ सालसम्म शैक्षिक गुणस्तर सुधार दशकका रुपमा विभिन्न कार्यक्रमहरु संचालन गर्ने निति तय गरेको छ । घरघरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने,खाँडादेवी अस्पतालको निर्माण कार्य अघि बढाउने,पालिकाको हरेक वडामा स्वास्थ्य सिविर संचालन गर्ने,प्राथमिक आँखा उपचार केन्द्र स्थापना गर्ने,सुक्खाग्रस्त क्षेत्रमा एक घर एक धाराको व्यवस्था गर्ने योजना पनि पालिकाले तय गरेको छ ।
गाँउपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउन लुभुघाट र वेनिघाट क्षेत्रमा जलयात्राको सम्भाव्यता अध्ययन गरी जलयात्रा पर्यटनको विकाश गर्ने,सित्खा खाँडाँदेवी केवलकार निर्माणका लागी सम्भाव्यता अध्ययन लगत्तै लगानी जुटाउन संघ र प्रदेश सरकारसंग पहल गर्ने,पालिका भित्रका धार्मीक मठमन्दिर,गुठी गुफाको संरक्षण गरी धार्मिक पर्यटन विकाशका लागी सम्भाव्यता अध्ययन गरी गुरुयोजना बनाउने योजना पनि पालिकाको छ ।
गाँउपालिकाले विद्युतीकरणको कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ । उज्यालो खाँडादेवी कार्यक्रमलाई कार्यान्वयन गर्ने,यातायात पुर्वाधारको विकाशलाई प्राथमिकतामा राखेर काम गर्ने, वन तथा वातावरण संरक्षणका लागी वृक्षारोपण कार्यक्रम संचालन गर्ने,एक घर एक विरुवाको निति अवल्मवन गर्ने,पालिकाभित्रका नागरिकको गुनासो सुन्न र पालिकाको काममा सुसासन र पारदर्शिता कायम गर्न गाउँगाउँमा कार्यक्रम तर्जुमा गरी संचालन गर्ने निति पनि गाँउपालिकाले लिएको छ ।
गाउँपालिका अध्यक्ष तामाङले समृद्ध खाँडादेवी निर्माणका लागी नेपालको संविधान,स्थानिय सरकार संचालन ऐन,गाउँपालिकाको आवधिक योजना,संघ÷प्रदेशको मार्गनिर्देशन अनुसार नै बजेट ल्याईएको बताए ।