कुलेखानीको जलासय भरिन लाग्यो, ५ मिटर मात्र बाँकी, आयोजना चलाउँदा पनि पानीको वहाव अधिक

 

काठमाडौं । देशको एक मात्र कुलेखानी जलासय इन्द्रसरोबर असारमै भरिने भएको छ । लगातारको वर्षाले गर्दा कुलेखानी जलासय भरिन अब ५ मिटर मात्र बाँकी छ । एक सातायता जलासयमा पानीको सतह बढेको हो ।

सोमबार बिहानसम्म जलासय बढेर १ हजार ५२६ मिटर नजिक पुगेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले बताए । वर्षा भएमा २/३ दिनभित्रै जलासय १ हजार ५३० मिटर पुग्ने उनले जानकारी दिए । भूकम्पअघि जलासय १ हजार ५३१ मिटरसम्म भरिने गरिएको थियो ।

जलासय भरिन कात्तिकसम्म कुर्नेपर्ने र कुनै वर्ष नभरिने गरेकोमा यो वर्ष असारमै भरिने अवस्था आएको उनले बताए । लामो समयपछि यस्तो अवस्था आएको उनले सुनाए । जलासय भरिन अवस्था आएपछि विद्युत प्राधिकरणले कुलेखानी आयोजनाबाट ९२ मेगावाट बिजुली उत्पादन गरिरहेको छ  ।

आयोजना चलाउँदा पनि बहाव बढी भएर बाँधको ढोका खोल्नु पर्ने अवस्था आउने संभावना रहेको उनले बताए । पानी बढी भएमा बाग्मतीमा जलसतह बढ्ने भएकाले सबैलाई जानकारी गराउन गृह मन्त्रालयलाई अनुरोध गरिएको उनले जानकारी दिए । बढी भएको पानी वाग्मति र आयोजनाबाट बिजुली उत्पादन गरेको पानि राप्ती खोलामा खसालिन गरिएको छ ।

२०७२ बैशाखमा गएको भूकम्पका कारण केही कमजोर बनेको कुलेखानीको बाँध गतवर्ष १ हजार ५२७ मिटरसम्म पानी भरिएको थियो । क्यापिटल नेपालसंग कुरा गर्दे उनले भने ‘यो वर्षको अध्ययन गरिरहेका छौ हेरौ कति भर्न सकिन्छ र संरचनाले कति थेग्ने छ ।’

कुलेखानी जलासय ब्याकप आयोजना हो । सुख्खायाममा ऊर्जा सन्तुलन कायम गर्नका लागि आयोजना चलाउने गरिएको छ । यो वर्ष वर्षा हुने समय अझै बाँकी रहेकाले आयोजना साउन र भदौमा पनि सञ्चालन गर्नुपर्ने अवस्था आएको छ ।

पहिलोको पानि दोस्रो र दोस्रोबाट तेस्रो आयोजनामा लगेर १४ मेगावाट बिजुली उत्पादन गर्ने तयारी भएको छ । तेस्रो आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

आउँदो साउनभित्र तेस्रो आयोजनाबाट बिजुली उत्पादन थाल्ने प्राधिकरणले जनाएको छ । ३ ओटा श्रङखला (क्यासकेड) आयोजनाको जडित क्षमता बढेर १०५ मेगावाट पुग्ने छ ।

You might also like